नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जनकपुरधाममा आयोजना हुने ‘प्रतिज्ञा सभा’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश सभापति कृष्णप्रसाद यादवले कार्यक्रमको तयारी सम्पन्न भएको जानकारी दिएका हुन्।
‘नेपाली कांग्रेसको पहिलो ऐतिहासिक प्रतिज्ञा सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित र उत्साहित छौँ,’ सभापति यादवले भने।
उनका अनुसार सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने उक्त सभा केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको छ।
कांग्रेस र मधेशबीचको सम्बन्ध इतिहासकै गहिरो धरातलमा आधारित रहेको उल्लेख गर्दै यादवले २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को जनआन्दोलनसम्म मधेशका नागरिकहरूले कांग्रेसको नेतृत्वमा भएका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।
‘मधेशको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ,’ उनले भने, ‘यस अवसरमा मधेशपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधिलगायतका नेताहरूलाई स्मरण गर्न चाहन्छु।’
मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस प्रतिबद्ध रहेको बताउँदै यादवले पार्टी सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेर मधेशसँग प्रत्यक्ष रूपमा जोडिएको जिकिर गरे।
‘यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो,’ उनले भने, ‘मधेशको विकास र सम्मानबिना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने विश्वासका साथ उहाँले मधेशको भूमिबाट प्रतिनिधित्व गर्न रोज्नुभएको हो।’
यादवका अनुसार मधेश केवल भौगोलिक क्षेत्र मात्र नभई राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादन, सांस्कृतिक विविधता र सामाजिक समावेशिताको आधारस्तम्भ हो। तर विगतका वर्षहरूमा अपेक्षित विकास र राज्यको पर्याप्त ध्यान नपाएको यथार्थलाई आत्मसात गर्दै कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्र ‘प्रतिज्ञापत्र’ मधेशबाटै सार्वजनिक गर्ने निर्णय गरेको उनले बताए।
‘मधेशबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नुको अर्थ कांग्रेसले मधेशलाई केवल चुनावी भूगोलका रूपमा नभई परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिएको स्पष्ट सन्देश हो,’ उनले भने।
उनका अनुसार मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तिकरण तथा सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्नेछ।