पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२ छपकैयामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाले व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। स्थानीय टोल–बस्तीमा पुगेर उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या, अपेक्षा तथा सुझावहरू सुनेका थिए।
बुथ सभापति फिरोज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। घरदैलोका क्रममा रुङटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गरे। उनले सबै समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै मधेसी, मुस्लिम, महिला, अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गका अधिकार संरक्षणलाई आफ्नो राजनीतिक दायित्वका रूपमा लिने स्पष्ट पारे।
रुङटाले पर्साको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै वीरगञ्जलाई देशकै सशक्त औद्योगिक तथा आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सुनाए। वीरगञ्ज–पथलैया क्षेत्रलाई व्यवस्थित औद्योगिक करिडोरका रूपमा विस्तार गर्ने, नयाँ उद्योग भित्र्याउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा रोजगारीका अवसरहरू व्यापक बनाउने योजनाबारे उनले जानकारी दिए। युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्दै स्वदेशमै सम्भावना विस्तार गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो।
वर्तमान राजनीतिक परिवेश र निर्वाचन तयारीबारे धारणा राख्दै उनले पार्टी संगठनलाई जुझारु, अनुशासित र एकताबद्ध बनाउनु अत्यावश्यक रहेको बताए। घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक टोलमा प्रत्यक्ष संवाद बढाइने उल्लेख गर्दै उनले निर्वाचनलाई जनमत संकलन मात्र नभई जनआवाज सुन्ने र समाधानको स्पष्ट खाका प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरे। एकताबद्ध प्रयासबाट विजय हासिल हुने विश्वास उनले व्यक्त गरे।
रुङटाले विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै पर्सा–१ लाई समुन्नत र व्यवस्थित क्षेत्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य दोहोर्याए। युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने, महिलाको सशक्तीकरणलाई संस्थागत गर्ने, कृषि तथा व्यापार क्षेत्रलाई आधुनिक बनाउने तथा पूर्वाधार निर्माणलाई तीव्रता दिने योजना उनले प्रस्तुत गरे। जनविश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै त्यसलाई ठोस परिणाममा बदल्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले क्षेत्रका प्रमुख समस्या, जनचासो तथा चुनावी रणनीतिबारे सुझाव राखेका थिए। संगठन सुदृढीकरण, घरदैलो अभियान विस्तार र युवाको सक्रिय परिचालनमार्फत जनसम्पर्क सुदृढ गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेताहरू, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।