आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल महिला संघ पर्साको सक्रियता तीव्र बन्दै गएको छ। नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा पर्सामा सम्पन्न एक महत्वपूर्ण बैठकमा महिलाको संगठनात्मक सशक्तीकरण, पार्टी रणनीति र स्थानीय तहमा महिला सहभागिता प्रभावकारी बनाउने विषयमा गहिरो छलफल गरिएको छ।
बैठकमा नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, पार्टी सचिव इम्तियाज आलम, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, अतिथि अनिल सिंह र प्रकाश उपाध्याय, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकारलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गरे। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको संरक्षणका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै पार्टी निर्माणमा महिला संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसका नीति, सिद्धान्त र विचार जनतासमक्ष पुर्याउन महिला संघले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन एकताबद्ध भएर लाग्न आग्रह गरे ।
प्रमुख अतिथि अनिल रुङटाले महिला संघको सशक्त भूमिकाले मात्रै पार्टीलाई निर्वाचनमा सफलता दिलाउन सक्ने धारणा व्यक्त गरे । उनले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने उत्तरदायी राजनीतिमा जोड दिए ।
बैठक सभापति किरण शर्माको धन्यवाद ज्ञापनसहित सम्पन्न भएको थियो। बैठकले आगामी दिनमा नेपाल महिला संघलाई अझ सक्रिय, संगठित र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ।