पर्साको परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको आयोजनामा नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विजयी बनाउने उद्देश्यले बैठक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार अनिल रुङटाले सबै समुदायको विश्वास र साथ लिएर क्षेत्रको समग्र विकासमा इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मधेसी, मुस्लिम, दलित, महिला तथा युवाको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको नीति तथा कार्यक्रमअनुसार अघि बढ्ने बताए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पार्टी सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय र अल्पसंख्यक समुदायको हक–हितमा उभिँदै आएको उल्लेख गरे। उनले अनिल रुङटा जनताको दुःख–सुख बुझ्ने, इमानदार र विकासप्रति प्रतिबद्ध नेता भएको भन्दै सबै समुदायलाई एकताबद्ध भएर कांग्रेसलाई विजयी बनाउन आग्रह गरे।
नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले मधेस, मुस्लिम समुदाय तथा आम नागरिकको अधिकारका लागि कांग्रेसको ऐतिहासिक योगदान रहेको बताए। उनले अवसरवाद र स्वार्थका लागि विचार परिवर्तन गर्ने प्रवृत्तिले जनताको विश्वास गुमाउने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र स्थायित्वका लागि कांग्रेसको विकल्प नभएको धारणा राखे।
नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले अनिल रुङटा मुस्लिम समुदायका भावना बुझ्ने र सधैं साथ दिने नेता भएको उल्लेख गरे। उनले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा रुङटाको स्पष्ट दृष्टिकोण रहेको बताउँदै मुस्लिम समुदाय एकजुट भएर उनको समर्थनमा उभिएको जानकारी दिए।
कार्यक्रममा नेपाल मुस्लिम संघका सचिव तबरेज मियाँले मधेस आन्दोलनका बेला एमालेको विरोध गरेका नेता प्रदीप यादव अहिले व्यक्तिगत स्वार्थका लागि एमालेमा प्रवेश गरेको आरोप लगाउँदै आलोचना गरे।
बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय कुमार द्विवेदी, सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, क्षेत्र नं. २ का क्षेत्रीय सभापति, नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष मो. साबुदिन लगायत पार्टीका कार्यकर्ता तथा मुस्लिम संघका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।