पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार अनिल रुङ्टाले वीरगञ्ज महानगरपालिका–३२ मा स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा उनले वडावासीका गुनासो, समस्या तथा सुझावहरू संकलन गरेका हुन् ।
कार्यक्रममा सहभागी वडावासीहरूले खानेपानी, सडक, सरसफाइ, विद्युत्, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता आधारभूत विषयमा विद्यमान समस्या र अपेक्षाहरू खुलस्त रूपमा राखेका थिए । साथै स्थानीय कार्यकर्ताहरूले विकास निर्माणका कामहरू प्रभावकारी, पारदर्शी र जनउत्तरदायी ढंगले अघि बढाइनुपर्ने आवश्यकता औँल्याएका थिए ।
यसै क्रममा एक सहभागीले नेपाली कांग्रेसमा सक्षम नेता तथा कार्यकर्ताको कमी नभए पनि चुनावका बेला अपेक्षित मत नआउनुका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे । उनले संगठनलाई थप मजबुत बनाउन जनतासँगको सम्बन्ध अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले उम्मेदवार रुङ्टाले जनतासँग प्रत्यक्ष संवाद गर्दै गुनासो संकलन गर्नु लोकतान्त्रिक अभ्यासको उत्कृष्ट उदाहरण भएको बताए । जनताको आवाज सुन्ने, समस्या बुझ्ने र समाधानप्रति प्रतिबद्ध रहने नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्दै उनले अनिल रुङ्टाको उम्मेदवारी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का लागि आशा र विश्वासको केन्द्र बनेको बताए । कुर्मीले सबै नेता, कार्यकर्ता तथा आम नागरिकलाई एकजुट भएर रुङ्टालाई विजयी गराउन आह्वान गरे ।
कार्यक्रममा बोल्दै उम्मेदवार अनिल रुङ्टाले नागरिकहरूले उठाएका गुनासो र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै प्राथमिकताका आधारमा समाधानका लागि पहल गरिने बताए । उनले जनताको आवश्यकता र अपेक्षाअनुसार नीति तथा कार्यक्रम अघि बढाउने आफ्नो लक्ष्य स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले “यो लडाइँ अनिल रुङ्टाजीको मात्र होइन, यो लडाइँ मेरो पनि हो,” भन्दै रुङ्टाप्रति पूर्ण विश्वास व्यक्त गरे । रुङ्टाबाट कुनै पनि प्रकारको गुनासो नआउने कुरामा आफू साक्षी रहेको उल्लेख गर्दै उनले रुङ्टाको जित सम्पूर्ण वडावासीको जित हुने धारणा राखे ।
सहभागीहरूका अनुसार यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउन महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी उम्मेदवार रुङ्टाले दिएका छन् ।