नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रूगंटाले वीरगञ्ज महानगरपालिका–३१ बेल्वाका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् ।
नेपाली काँग्रेस वडा एकाइ समितिको आयोजनामा सम्पन्न संवाद कार्यक्रममा वडा एकाइ समितिका सदस्यहरू, समाजसेवी, स्थानीय अगुवा तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
संवादका क्रममा स्थानीय बासिन्दाहरूले भौतिक पूर्वाधार विकास, सडक निर्माण, प्रहरी चौकी स्थापना, सार्वजनिक जमिनको संरक्षण तथा कृषि क्षेत्रको विकासलगायतका महत्वपूर्ण विषयहरू उठाएका थिए ।
वडा एकाइ सभापति अनिरूद्ध प्रसाद थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार रूगंटाले स्थानीयले उठाएका समस्याहरूको दीर्घकालीन समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले भने, “बेल्वाको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका समस्याहरू मैले राम्ररी महसुस गरेको छु । यहाँ उठाइएका सडक, सुरक्षा, सार्वजनिक सम्पत्ति संरक्षण र कृषि सम्बन्धी विषयहरूमा म गम्भीर छु । सम्बन्धित निकाय तथा सरोकारवाला पक्षहरूसँग समन्वय गरी यी समस्याहरूको दीर्घकालीन समाधान खोज्न प्रतिबद्ध छु ।”
कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, कार्यवाहक सभापति रामनारायण कुर्मी, नेता विजय सर्राफ, अरविन्द गुप्ता, हरि यादव, शिवचन्द्र यादव, किरण सरकारलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।