नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु भएको छ। पार्टीको साबिकको विधानअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्रीसहित सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा उम्मेदवारी मनोनयन दर्ताका लागि फारम वितरण सुरु गरिएको छ। विधानअनुसार कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था छ।
सहमहामन्त्रीतर्फ महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू तथा पिछडिएका समुदायबाट गरी आठ जना चयन हुनेछन्। त्यस्तै खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
विशेष महाधिवेशनले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ भने साढे ४ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। मतदान कार्यक्रम भने मंगलबार राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म तय गरिएको छ।
निर्वाचनमार्फत पदाधिकारी र केन्द्रीय समिति चयन गरिनेछ। केन्द्रीय निर्वाचन समितिले पदअनुसार उम्मेदवारी शुल्क पनि निर्धारण गरेको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्री पदका लागि समान २५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यसैगरी सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।
विशेष महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व चयन हुने भएकाले भृकुटीमण्डपमा राजनीतिक चहलपहल तीव्र बनेको छ।