नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेको छ। यससँगै कांग्रेस नेतृत्व परिवर्तनको दिशातर्फ आधिकारिक रूपमा अघि बढेको छ।
विशेष महाधिवेशनले पारित गरेको कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले तत्कालीन कार्यसमिति विघटन गरी १५औँ महाधिवेशनसम्मका लागि नयाँ कार्यसमिति निर्वाचन गर्ने व्यवस्था गरिएको छ।
स्मरणीय छ, नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ मंसिर २४–२८ मा भएको थियो, जसबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए। त्यसपछिको मंसिर १५ को केन्द्रीय समितिले कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको थियो।
कार्यविधिअनुसार, नयाँ कार्यसमिति निर्वाचनका लागि ५ सदस्यीय निर्वाचन समिति गठन गरिनेछ, जसमा एक जना संयोजक पनि रहनेछ। साथै, विगतमा केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले गरेका निर्णयहरू पुनरवलोकन गरी आवश्यक परेमा निष्क्रिय वा खारेज गरिने व्यवस्था गरिएको छ।
त्यसैगरी, पुस २७–२८ मा बोलाइएको केन्द्रीय महाधिवेशन वैधानिक रहेको प्रस्ताव पनि कार्यविधिमा समावेश गरिएको छ।
यस कदमसँगै कांग्रेसले नेतृत्व र निर्णय प्रक्रियामा पारदर्शिता र आन्तरिक लोकतन्त्रको नयाँ अध्याय सुरु गरेको संकेत दिएको छ।