सरकारका कामकारबाहीमाथि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीखो व्यंग्य प्रहार गरेका छन्। ‘भत्काउने’ काममै सीमित रहेको आरोप लगाउँदै ओलीले विकास र लोकतन्त्र भत्काएर होइन, सोच र दृष्टिकोणबाट देश बन्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तोष व्यक्त गरे।
हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाउँदै ओलीले सरकार अनावश्यक रूपमा भत्काउने काममै केन्द्रित भएको आरोप लगाए।
‘यो सरकारले के गर्यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन ? चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो। आधा भत्कायो, आधा बाँकी छ,’ ओलीले भने।
उनले सरकारलाई ‘भत्काउने बानी परेको’ भन्दै लोकतन्त्र, संविधानदेखि सुकुम्बासी बस्तीसम्म भत्काउने काम भइरहेको टिप्पणी गरे।
‘भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो—सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने मात्रै ?’ ओलीले प्रश्न गरे।
ओलीले देश निर्माणका लागि सही सोच र विवेक आवश्यक रहेको उल्लेख गर्दै उन्माद र नशामा निर्णय लिएर देश नबन्ने बताए। ‘भत्काएर मात्रै देश बन्दैन। देश बनाउनुपर्छ। बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छे चाहिन्छ। उन्मादमा, नशामा देश बन्दैन,’ उनले भने।
ओलीको अभिव्यक्तिलाई वर्तमान सरकारप्रति एमालेको कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ।