पर्सा क्षेत्र नं. ३ मा यस पटकको प्रतिनिधिसभा निर्वाचन प्रतिस्पर्धात्मक र रोचक हुने संकेत देखिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा माओवादी केन्द्र–नेकपा समाजवादी एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी र मातृसभूमि पार्टीबीच कडा भिडन्तको अवस्था बनेको हो।
बदला लिने दाउमा चौधरी
नेपाली कांग्रेसका सुरेन्द्र चौधरी विगतका दुई चुनावी हारको बदला लिने तयारीमा छन्। २०७९ को निर्वाचनमा उनी एमालेका राजकुमार गुप्तासँग जम्मा १५१ मतको झिनो अन्तरले पराजित भएका थिए। गुप्ताले २४ हजार २६० मत ल्याउँदा चौधरी २४ हजार १०९ मतमा सीमित भएका थिए।
यसअघि २०७४ मा पनि चौधरी मधेशी जनअधिकार फोरमका हरिनारायण रौनियारसँग १५ हजार १६८ मतका साथ पराजित भएका थिए। चौधरीले त्यसबेला १३ हजार ८०१ मत पाएका थिए।
यस पटक गुप्ता पोखराको लिचीबारी भ्रष्टाचार काण्डमा पुर्पक्षका लागि जेल परेपछि एमालेले नयाँ उम्मेदवारका रूपमा रुपेश पाण्डेलाई अघि सारेको छ। गुप्ताको अनुपस्थितिले आफूलाई सहज वातावरण बनेको चौधरी पक्षको आकलन छ। थारु समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा जातीय मत आफ्नो पक्षमा आउनेमा पनि चौधरी ढुक्क देखिन्छन्।
२०७९ को समानुपातिक मतलाई आधार मान्दा पर्सा–३ मा कांग्रेस सबैभन्दा ठूलो दल देखिन्छ। त्यतिबेला माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसले १७ हजार ४४३ मत पाएको थियो भने जसपा नेपालसँग गठबन्धन गरेको एमालेले १५ हजार २५४ मत ल्याएको थियो।
युवा मत तान्ने दाबीमा एमाले
एमालेका उम्मेदवार रुपेश पाण्डे पूर्वमन्त्रीसमेत भइसकेका सुरेन्द्र चौधरीले क्षेत्रको विकासका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै युवा मतदाताको समर्थन आफूलाई प्राप्त हुने दाबी गरिरहेका छन्।
एमालेभित्र गुप्ताको प्रकरणपछि केही असहज अवस्था देखिए पनि संगठनात्मक संरचना र परम्परागत मत आफ्नो पक्षमा रहने विश्वास एमालेले राखेको छ।
घण्टीको माहोल क्यास गर्ने रणनीतिमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेपछि मधेश क्षेत्रमा देखिएको घण्टीको माहोल क्यास गर्ने रणनीतिमा पर्सा–३ का उम्मेदवार रामाकान्त चौरसिया छन्। निर्माण व्यवसायी पृष्ठभूमिका चौरसिया पुराना दलप्रति मतदातामा बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा रूपान्तरण गर्ने प्रयासमा छन्।
२०७९ को निर्वाचनमा रास्वपाले कमजोर प्रदर्शन गरेको थियो। प्रत्यक्षतर्फ ९२३ मत र समानुपातिकतर्फ १ हजार ३६४ मत पाएको रास्वपाले यस पटक उल्लेख्य सुधारको अपेक्षा गरेको छ।
एकीकृत कम्युनिष्ट पार्टीको गणित
माओवादी केन्द्र र नेकपा समाजवादीको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल प्रसाद यादव पनि कांग्रेस र एमालेभित्रको असन्तुष्टिलाई क्यास गर्दै जीत निकाल्ने रणनीतिमा छन्।
२०७९ को समानुपातिक मत परिणाम हेर्दा माओवादी केन्द्रले ३ हजार १४३ र समाजवादीले ३ हजार ८४६ मत ल्याएका थिए। संयुक्त रूपमा यो शक्ति तेस्रो स्थानमा देखिन्छ। पुराना दलप्रति देखिएको असन्तोषलाई संगठित गर्न सके परिणाम उल्ट्याउन सक्ने विश्लेषण भइरहेको छ।
परिवर्तनको मत कता ?
२०७९ मा चार दलको सहकार्यमा एउटै चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको नेपाल सुशासन पार्टीका राजकुमार यादवले १० हजार ४८१ मत पाएका थिए। उक्त मतलाई परिवर्तनको मत मान्ने हो भने यस पटक त्यो मत कता जान्छ भन्ने प्रश्नले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्न सक्ने अनुमान गरिएको छ। यादव अहिले जय मातृसभूमि पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । उनी पनि पुराना दलप्रतिको असन्तुष्टि र परिवर्तनको लहरको माहोलमा विगत हारको बदला लिन कसरत गरिरहेका छन् ।
स्वतन्त्रसहित २३ जना उम्मेदवार मैदानमा उत्रिएको पर्सा–३ मा जसपा नेपालले नयाँ अनुहारको रुपमा नागेन्द्रप्रसाद यादवलाई अघि सारेको छ भने राप्रपाका नवीकुमार सिंह छन् । जनमत पार्टीले मातलतीकुमारी कुशवाहलाई उतारेको छ ।
युवा मत नै निर्णायक
२०७९ को निर्वाचनमा पर्सा–३ मा ७१ प्रतिशत मत खसेको थियो, जुन राष्ट्रिय औसत ९६१ प्रतिशत० भन्दा बढी हो। यस पटक यस क्षेत्रमा ९६ हजार ५२९ मतदाता छन्। जसमध्ये ५४ हजार ८८७ पुरुष ९५६।८६ प्रतिशत० र ४१ हजार ६३८ महिला ९४३।१४ प्रतिशत० छन्।
विशेषगरी १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ४१ प्रतिशत छन्। यही युवा मत नै यस पटकको निर्वाचन परिणामको गेम चेन्जर बन्ने विश्लेषण गरिएको छ। पर्सा–३ मा परम्परागत शक्ति, नयाँ अनुहार र असन्तुष्ट मतको समीकरणले कसको बाजी मार्छ भन्ने चासो अहिले व्यापक रूपमा बढेको छ।