नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने मात्र होइन, जित्ने दाबीसमेत गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले १५औँ महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व आफूले सम्हाल्ने स्पष्ट संकेत दिए।
“म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो। म पार्टी सभापति बन्न चाहन्छु, बन्छु,” थापाले भने, “अब महाधिवेशन गरेर नेतृत्व फेर्ने कुरा मात्र होइन, पार्टीलाई नै नयाँ बनाउने समय आएको छ।”
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गत मंसिर १५ गते गरेको थियो। हाल पार्टीमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम तीव्र गतिमा भइरहेको छ।
महामन्त्री थापाले क्रियाशील सदस्यता सम्बन्धी काम अहिले तल्लो तहबाट भइरहेको बताए।
उनले भने, “ठाउँ–ठाउँबाट क्रियाशील सदस्यता पठाउने काम जसरी हुनुपर्ने हो, त्यसरी भइरहेको छैन। तर म कसैलाई दोष दिँदिनँ। अझै गर्न सकिन्छ भन्ने विश्वास छ। लागिरहेका छौँ।”
अधिवेशन समयमै नहुने आशंका व्यक्त भइरहेका समाचारप्रति संकेत गर्दै थापाले भने, “पत्रपत्रिका हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन भन्ने जस्तो देखिन्छ। पहिला राम्रो बाटोमा पानी हालेर हिलो बनाइयो, अब हिँड्न सकिँदैन भन्नेजस्तै हो। वास्तवमा बाटो ठीक थियो। समयमै महाधिवेशन गर्न सकिन्थ्यो तर अहिले कता–कता अलि असहज संकेत देखिरहेका छौँ।”
महामन्त्री थापाले यो विषयमा पार्टी सभापतिसँग जुनसुकै मूल्य चुकाएर भए पनि महाधिवेशन गर्नुपर्ने कुरा स्पष्ट रूपमा राखिसकेको पनि बताए।