नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नेबारे पार्टीका कार्यकर्तालाई औपचारिक रूपमा जानकारी दिन थालका छन्।
गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग मंगलबार महाराजगञ्ज निवासमा भएको भेटमा देउवाले आफैं अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने मनस्थितिमा रहेको बताएका भट्टले जानकारी दिए।
भट्टका अनुसार, ‘‘सभापतिज्यूसँग कुराकानी गर्दा उहाँले अन्तिम पटक म डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने पक्षमा छु भन्नुभयो।’’
भट्टले भेटमा युवापिढीलाई अब पार्टी नेतृत्वमा अगाडि ल्याउनुपर्ने सुझाव राखेका थिए। त्यसबारे बोल्दै उनले देउवालाई, ‘‘चुनाव उठ्ने–नउठ्ने निर्णय तपाईंको हो,’’ भनेको खुलाएका छन्।
यसअघि केहीले देउवा आगामी चुनाव नलड्ने अनुमान गर्दै आएका थिए। तर गृहजिल्लाका युवासँगको संवादमा देउवाले अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गर्दै सहयोगका लागि आग्रह पनि गरेका छन्।
डडेल्धुराबाट ७ पटक निर्वाचित
सभापति देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। आगामी चुनावमा पनि उनी पुनः त्यहीँबाट उम्मेदवारका रूपमा सिफारिस हुने तयारी कांग्रेसभित्र भइरहेको छ।
देशभरका कांग्रेसका क्षेत्रीय समितिहरूमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस प्रक्रिया जारी छ। डडेल्धुराबाट देउवाको नाम सिफारिस गर्ने तयारी ती समितिहरूले गरिरहेका छन्।
१५ औँ महाधिवेशनबारे पनि जानकारी
भेटका क्रममा सभापति देउवाले केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २६ देखि २८ गतेसम्म हुने १५ औँ महाधिवेशन निर्धारित मितिमै हुने बताएका भट्टले बताए।
उनका अनुसार, ‘‘उहाँले युवाहरूलाई पार्टी र आम निर्वाचनमा अर्थपूर्ण प्रतिनिधित्व दिलाउन आफू सकारात्मक रहेको’’ बताएका छन्।