मधेशमा बढ्दो सुक्खासँगै वर्षेनि खानेपानी संकटको पुनरावृत्ति हुँदै आएको छ । यो वर्ष पनि पानीको समस्यामात्र चर्किएन, मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जमा देखिएको हैजा आसपासका ग्रामीण क्षेत्रसम्मै फैलियो । बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान नै चलाउनुपर्ने अवस्था आयो । हैजाले सार्वजनिक स्वास्थ्यमा संकटको रूप लिएपछि वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा शहरी व्यवस्थापन र सार्वजनिक स्वास्थ्य सुरक्षाबारे पनि गम्भीर प्रश्न उठेको छ ।
विगत ३÷४ वर्षदेखि खानेपानीको समस्या यहाँको दैनिकीमा अभिन्न संकटजस्तै बनेको छ । वीरगञ्जमा पानी संकट टार्न वीरगञ्ज महानगर र खानेपानी संस्थानले आपूर्ति विस्तार गरेका छन् । प्रदेश सरकारले ट्यांकरमार्फत पानी बाँड्यो भने स्थानीय सरकारले डिप बोरिङमार्फत पानी वितरण गरेर तत्कालका लागि समस्या टार्ने काम गरे पनि यो दीर्घकालीन समाधान भने होइन ।
मधेशको पानीको आधारको रुपमा रहेको भूमिगत जलस्रोत सुक्दै गइरहेको छ । पुनर्भरणका प्राकृतिक माध्यम मासिएका छन् । भूजलको पुनर्भरणको उपायमा केन्द्रित नहुने हो भने अल्पकालीन समाधानले समस्यालाई अझ गहिरो बनाउनेमा आशंका आवश्यक छैन । तहगत सरकारहरूका उपायले मधेशमा पानीको संकट गम्भीर बन्दै जाने संकेत मिलेको छ । सरोकारका कुनै पनि पक्ष यसमा आवश्यकताजति संवेदनशील देखिएका छैनन् ।
चुरे क्षेत्रको विनाश, भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन र वर्षाचक्रमा आएको असन्तुलनले भूमिगत पानीको स्तर झन् तल धकेलिएको हो । अहिले मधेश प्रदेशका अधिकांश बस्तीमा पानीको संकट देखिएको छ । खानेपानीमात्र होइन, खेतिपाती प्रभावित भएको छ । यो वर्ष मुख्य बाली धानको उत्पादन घट्ने अनुमान विज्ञहरूले गरेका छन् । मधेशमा अहिले देखिएको पानीको समस्या चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन र वन फडानीको असरसँग बढी जोडिएको छ । नदीजन्य वस्तुको अति दोहन र मौसमचक्रमा आएको परिवर्तनका कारण पानीको सतह कम हुन थालेको हो । नहर, कुलो, पोखरीजस्ता पुनर्भरणका सतही स्रोतहरू मासिने क्रम बढेको छ, यसलाई रोक्नु पर्दछ । जलवायु परिवर्तनमा कारण वर्षाको एकैपटक बाढी ल्याउने प्रकृतिको वर्षा भइरहेको छ । यसले भूमिगत पानीको पुनर्भरण प्रभावित भएको छ ।
बितेको ६÷७ दशकमा चापाकलको अत्यधिक प्रयोग र निर्माण कार्यमा कंक्रिटीकरणले पनि पानीको पुनर्भरण प्रभावित भएको हो । वीरगञ्ज महानगरमै मात्र २७ हजारभन्दा बढी घरधुरी चापाकलमा निर्भर छन् । ती चापाकल २०० देखि २५० फीट जमिनमुनि गाडिए पनि पानीको सतह तल गएपछि पानी दिन छोडेका छन् । अहिले महानगरले करिब ३०० डिपबोरिङबाट पानी वितरण गर्दै आएको छ । यता खानेपानी संस्थानले १३ हजारभन्दा बढी धाराहरू जडान गरेको छ । तीमध्ये ७ हजारभन्दा बढी धारा पानीको संकट शुरू भएयता जोडिएका छन् । तर, यो आपूर्ति असमान र अव्यवस्थित छ ।
भूमिगत पानीको अव्यवस्थित उपयोगले एकातिर जलभण्डारमा प्रतिकूल असर थपेको छ, अर्कातिर यो अव्यवस्थाको प्रत्यक्ष परिणामस्वरूप नै वीरगञ्जमा हैजाको संक्रमण फैलिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साको तथ्यांकअनुसार १ हजार ६ सय ५७ जना झाडापाखालाका बिरामीमध्ये २७५ जनामा हैजा पुष्टि भइसकेको छ ।
स्वास्थ्यविज्ञहरूले खानेपानीबाट हैजाका जिवाणु फैलिएको बताए पनि स्थानीय सरकार र खानेपानी संस्थान दुवैले आआफूले वितरण गरेको पानीको शुद्धता दाबी गर्दै आएका छन् । खानेपानीको पाइपलाइनमा ढलको पानी मिसिनु, फुटेका पाइप समयमै मर्मत नहुनु र वितरणअघि पर्याप्त क्लोरिनेसन नहुनुले संक्रमण फैलिएको हो ।
हैजा फैलिएपछि खोप अभियान नै चलाउनुपर्ने अवस्था आएको छ । सरोकारका निकायहरु यो स्वास्थ्य संकटप्रति संवेदनशील देखिनुको सट्टा एकअर्कालाई दोष लगाउने र जिम्मेवारीबाट पन्छिने नियतमा देखिएका छन्, यो उचित होइन । संस्थागत जिम्मेवारीमा देखिएको पारस्परिक दोषारोपण शोभनीय हुन सक्दैन । जिम्मेवार निकायले जिम्मेवारी पन्छाइरहँदा पीडित हुने भनेको सधैं नागरिक नै हुन् । यो प्रवृत्ति केवल वीरगञ्जको मात्र होइन, औसत समस्या हो । प्रशासनिक र प्राविधिक समन्वयको अभावले सानो समस्याले पनि महामारीको रूप लिन सक्दछ भन्नेमा सतर्कता जरुरी छ । वीरगञ्जमा हैजा फैलिएपछि मात्रै पानीमा औषधी हाल्ने र सतही सुधारका प्रयास भएका हुन् । यसले मूल कारण समाधान गर्न सक्दैन । पानी वितरण प्रणालीलाई वैज्ञानिक रूपमा मर्मत, निगरानी र पुनर्संरचना गर्न अब ढिलाइ गरिनु हुँदैन । वीरगञ्जजस्ता चापाकलमा निर्भर शहरहरूमा भूमिगत पानीको अत्यधिक दोहन तत्काल घटाउनुपर्छ । चुरे संरक्षण, पुनर्भरणका पोखरी र नहरको पुनर्जीवनका कार्यक्रमहरूलाई प्राथमिकतामा दिइनु पर्दछ ।
हैजाविरुद्ध खोप अभियान सुरु गर्नु सकारात्मक कदम हो । तर, यो संकटको दीर्घकालीन समाधान भने होइन । सुरक्षित र शुद्ध खानेपानीको सुनिश्चितता आवश्यक छ । वीरगञ्जमा देखिएको हैजाको प्रकोप केवल एक शहरको समस्या होइन, यो सम्पूर्ण मधेश प्रदेशका शहरहरूका लागि चेतावनी पनि हो । अब पनि पानीको स्रोत व्यवस्थापन र वितरण प्रणाली सुधारमा ठोस कदम चालिएन भने आगामी वर्षहरूमा हैजा मात्र होइन, जलजन्य अन्य रोगहरू पनि भयावह रूपमा फैलिन सक्छन् । पानी जनस्वास्थ्य र अस्तित्वसँग जोडिएको विषय हो । वीरगञ्जको हैजाले बजाएको खतराको घण्टी सुन्ने जिम्मा तहगत सरकार र नागरिक सबैको हो ।