नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग आफू नडराउने बताएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नो जलेको निवास परिसरमै पत्रकार सम्मेलन गर्दै खड्काले भने, “सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ? म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।”
पूर्वमन्त्री खड्काले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको स्पष्ट पारे । उनका अनुसार आन्दोलनकारीहरूले ढोका हान्न थालेपछि आफूले खाना खान पनि नपाएको थियो ।
“२४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ । मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ,” उनले भने, “अंगरक्षक साथीहरूले मलाई बाहिर निकाले ।”
उनका अनुसार त्यसपछि उनी केही समयका लागि छिमेकीको घरमा बसे र राति नेपाली सेनाको ब्यारेकमा गएर आश्रय लिए । “म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो,” उनले भने, “त्यसपछि तराईतिर तीन–चार दिन बसेँ ।”
खड्काले तराईबाट सोझै उपचारका लागि भारत गएको पनि जानकारी दिए । “बिरामी भएपछि उपचारका लागि भारत गएँ । डेँगु भएको रहेछ,” उनले भने, “त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट पनि भयो । बच्चा, श्रीमती र म सबै बिरामी थियौँ ।”
अहिलेको सरकारबारे उनले टिप्पणी गर्न नमिल्ने बताएका छन् । “सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने जिम्मा लिएको छ,” उनले भने, “यो परिस्थितिजन्य सिर्जित सरकार हो । यसका विषयमा टिकाटिप्पणी छैन । मुलुकको जिम्मा राजनीतिक दल र नागरिकहरूले लिनुपर्छ ।”