अहिले देशभर दशैंको उत्सव छ । यो वर्ष वडा दशैैं आउँदो असोज १६ गते बिहीबार परेको छ । वैदिक सनातन परम्पराअनुसार शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी नौ रात र दस दिन मनाइने यो पर्वलाई नवरात्र पनि भनिन्छ ।
दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व हो । ‘दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध पूजा आदि नामले जानिन्छ,’ ज्योतिष छविरमण सुवेदी भन्छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चल्ने दशैंलाई धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक सबै पक्षबाट महत्वपूर्ण मानिँदै आएको छ ।
दशैं दक्षिण एसियाली हिन्दू समाजको सबैभन्दा ठूलो चाड हो । नेपालमा ‘बडा दशैं’ भन्ने प्रचलन छ । यसको अर्थ हुन्छ, महत्वपूर्ण दशमी । चाडपर्वमध्ये सबैभन्दा ठूलो चाड । दशैं नेपालका अतिरिक्ति भारतका विभिन्न प्रदेशहरु सिक्किम, पश्चिम बङ्गाल, उत्तराखण्ड, असाम र दक्षिण भारतमा पनि मनाइन्छ । श्रीलंका, भुटान, बर्मा, कम्बोडिया र थाइल्यान्डमा समेत दशैं मनाउने प्रचलन छ । विश्वभरि छरिएका हिन्दू र नेपालीहरूले आआफ्नै तरिकाले दशैं मनाउने गरेबम छन् ।
दशैं मनाउने तरिका भने ठाउँअनुसार केही फरक छन् । नेपाल र पूर्वोत्तर भारतमा दशौं दिन मान्यजनबाट टीका–जमरा लगाएर मनाइन्छ । भारतका अन्य प्रदेशमा ‘दशहरा’ को दिन रावणको पुत्ला दहन गरिन्छ । भारतको बङ्गाली समाजमा सार्वजनिक रूपमा भव्य दुर्गा पूजा गर्ने र भेला लाग्ने प्रचलन छ ।
घटस्थापना, फूलपाती, महाअष्टमी, विजया दशमी र कोजाग्रत पूर्णिमा दशैंका मुख्य दिन हुन् । घटस्थापना दशैंको पहिलो र कोजाग्रत पूर्णिमा अन्तिम दिन हो । नेपालको पश्चिमी क्षेत्रमा भने दशमीको टीकासँगै दशैं समाप्त हुन्छ । घटस्थापनादेखि दशमीसम्म १० दिनको हुन्छ ।
‘धर्मशास्त्रअनुसार आश्विन शुक्ल प्रतिपदाको दिन कलश स्थापनासहित दुर्गा पूजाको विधि सुरु हुन्छ । सात दिनसम्म सप्तशती पाठ, हवन, बलिदान, आरती आदिको परम्परा रहन्छ । अष्टमी र नवमीमा विशेष पूजा गरिन्छ भने दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन छ,’ सुवेदीले भने ।
बलिदानमा कुभिण्डो, नरिवल, उखुजस्ता सात्विक सामग्रीको प्रयोगलाई उत्तम मानिन्छ, यद्यपि कतैकतै राँगा–बोका चढाउने चलन अझै देखिन्छ । बदलिँदो समयसँगै परम्परागत बलिदानका सट्टा सात्विक पूजा र पर्यावरणमैत्री अभ्यासलाई प्राथमिकता दिने प्रवृत्ति पनि देखिएको छ ।
नेपालभरका घरघरमा निधारको रातो टीका र कानको पहेँलो जमराले नेपाली पहिचान झल्काउँछ । पर्वले परदेशमा रहेका नेपालीलाई आफन्तसँग जोड्ने काम गर्छ । रिस–राग मेटाउँदै आत्मीयता साटासाट गर्ने यो अवसरलाई धेरैले राष्ट्रिय एकताको कडी पनि मानेका छन् । यही कारण विदेशिएका छोराछोरी, वर्षौंपछि घर फर्किएका श्रमिकदेखि माइती घर जाने चेलीबेटीसम्म सबैलाई यो पर्वले एकै सूत्रमा बाँध्ने काम गरेको छ ।
शरद ऋतुमा गर्मी र जाडोको संक्रमणसँगै शरीरलाई अनुकूल बनाउने सन्देश दशैंले बोकेको देखिन्छ । नवरात्रका नौ दिनमा पूजा गरिने नवदुर्गाका प्रत्येक रूपलाई पृथ्वी, आकाश, वनस्पति, विद्या र बुद्धिजस्ता तत्वसँग जोडेर शारीरिक र मानसिक सन्तुलन कायम राख्ने संकेत दिइएको छ । उपवास, सात्विक आहार र अनुशासित जीवनशैलीले स्वास्थ्य र आरोग्य बढाउने विश्वास गरिन्छ ।
वैदिक ग्रन्थदेखि उपनिषदसम्म शक्तिस्वरूपिणी भगवतीको महिमा वर्णन गरिएको छ । भगवान् रामले रावणमाथि विजय पाउन देवीको आराधना गरेको कथा होस् वा कृष्णको आपत्कालीन साधना सबैले संकट निवारणको शक्तिको प्रतीकलाई अँगालेका छन् । यही परम्परालाई जीवित राख्दै दशैं आज पनि स्वास्थ्य, सद्भाव र एकताको साझा पर्वको रूपमा झनै आवश्यक बनेको छ ।
धार्मिक विद्वानहरू यो पर्वको मूल उद्देश्य शक्ति उपासना र शरीर र मनको शुद्धि हो । समाजशास्त्रीहरू दशैंलाई शक्ति परम्परा र अनेक जनजातीय संस्कृतिको समिश्रणबाट विकसित हुँदै गएको एक लोकप्रिय चाड मान्दछन् । ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रका उपप्राध्यापक वीरेन्द्रप्रसाद शाह दशैं समाजको अर्थराजनीतिसँग सरोकार राख्ने पर्व मान्दछन् । ‘यो पर्व समाजको अर्थराजनीतिक सरोकारसँग जोडिएको छ । दशैंका धार्मिक पक्षहरूसमेत सामाजिक विषयसँग जोडिएको छ । खेतीबाट अनाज भित्र्याइसकेपछि हुने दशैं पर्वले समाजमा हुनेखाने र हुँदा खानेहरू सबैले पर्व मनाउने अवसरलाई आत्मसात गरेको छ,’ उनले भने ।
दशैं जुन विश्वासमा मनाए पनि यो शक्ति पूजाको पर्व हो । हर्ष एवम् उल्लास तथा विजय र खुशीको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक पनि हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव पर्व सुरु भएको विश्वास गरिन्छ ।
वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो । दशैं सनातन परम्परा, संस्कार –संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषयमात्र नभएर अब वैज्ञानिक महत्वको विषय पनि रहेको पुष्टि भएको छ । यो समाज विज्ञान, मनोविज्ञान र व्यवहार विज्ञानसँग निकट रहेको मानिन्छ । पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर, यथार्थ विधि र पद्धतिअनुसार निष्ठावान तरिकाले मनाउँनु पर्छ ।