नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते भएको घटनाबारे पार्टीका तर्फबाट देशसँग माफी मागेका छन्। उनले त्यस दिन भएको घटना अकल्पनीय र पीडादायी भएको उल्लेख गर्दै कांग्रेसले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भने, “भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। तपाईं र म सरकारमा थिएनौं, तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुछ्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ।”
उनका अनुसार भदौ २४ गते ठूलो क्षति भएको छ। “हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ, अहिले कसैले अनुमान गर्न सक्दैन। पार्टी सभापतिदेखि सयौँ साथीहरूमाथि आक्रमण भयो, घर र सम्पत्ति जलाइयो। स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ तर नियतवश गरिएका घटनाका दोषी कानुनी दायरामा आउनुपर्छ,” उनले भने।
थापाले तत्काल नयाँ सरकार गठनपछि भदौ २३ र २४ मा भएका सबै अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले कांग्रेसले पुनर्निर्माणमा अग्रसर हुनुपर्ने उल्लेख गर्दै विगतमा माओवादीसँग हात मिलाएझैँ फेरि घाउ मेट्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखे।
अहिलेको संकटबाट देशलाई बाहिर निकाल्न कांग्रेस पहल गरिरहेको उनले बताए। राष्ट्रपति, अन्य दल र आन्दोलनरत जेनजी पक्षसँग संवाद भइरहेको उल्लेख गर्दै उनले भने, “अन्तरिम सरकार बनाउने विषयमा आज साँझसम्म टुंगो लाग्न सक्छ। आन्दोलनकारी साथीहरूले छानेको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ।”
उनले कांग्रेस सच्चिने, झन् बलियो भएर अघि बढ्ने र अनावश्यक संस्थागत संरचना तथा गुटउपगुट अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।