नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा मात्र निर्णय गर्नु पर्याप्त नहुने बताएका छन्। उनका अनुसार, वैधानिक मात्र नभई निर्णयहरू वैध पनि हुन आवश्यक छ।
बुधबार काठमाडौंमा आयोजित नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसको सभालाई सम्बोधन गर्दै उनले भने, “हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ। तर, मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन।”
महामन्त्री थापाले पार्टी वा संसद् जे सन्दर्भमा भए पनि निर्णयहरू बहुमतका आधारमा हुने बताए। तर, ती निर्णयहरू पार्टी सदस्य वा जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्त्वपूर्ण हुने उनको भनाइ थियो। “लोकतन्त्र चल्नका लागि वैधानिक मात्रै भएर हुँदैन, वैध पनि हुनुपर्छ,” उनले जोड दिए।
‘पार्टीमा आत्मविश्वास र शुद्धता चाहिन्छ’
महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र आत्मविश्वास र शुद्धता आवश्यक भएको बताए। उनले नेपाली कांग्रेसलाई नेपालको राष्ट्रिय शक्ति भएको स्मरण गर्दै भने, “राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन। नेपाली कांग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो।”
उनका अनुसार, आजको मुख्य चुनौती नेपाली समाजमा देखिएको चरम असन्तुष्टि हो। उनले कतिपय असन्तुष्टिहरू प्रायोजित भएको दाबी गर्दै सबै कुरालाई बुझेर सम्बोधन गर्दै अघि बढ्नु पार्टीको जिम्मेवारी भएको उल्लेख गरे।
“राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने पार्टी नै राष्ट्रिय पार्टी हो,” उनले भने, “त्यसका लागि नेपाली कांग्रेसलाई अहिले ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छ।”