संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ देखि नै प्रत्येक वर्ष नोेभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसंगा जोडिएको छ । महामारीको समयमा विशेषगरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकोले अहिले र भविष्यमा आउन सक्नेयस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्र राष्ट्रसंघले जनाएको छ ।
महिला तथा वालवालिकाको अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।
उक्त अवसरमा ‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ उक्त अभियान यस वर्ष नेपाल भरी मनाईरहदाँ वीरगजमा पनि मनाईएको छ । १६ दिनसम्म लैगिंक हिंसा अन्त्यका लागि विभिन्न संघसंस्थाहरु उक्त अभियानको संचालन गर्दै आईरहेका छन् । यसैबीच राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा महिला हिंसाविरुद्ध काम गर्नै विभिन्न संघसंस्थाहरूले यस दिवसले समाज, देश र अन्तर्रा्ष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहन गर्ने कार्यमा हौसला प्रदान गर्ने धारणा राखेका छन् । शिक्षा तथा चेतनाको अभावका कारण संसारका महिलाहरूले आफूमाथि हुने गरेको हिंसा तथा तथा विभिन्न अपमानित व्यवहारहरू खप्न बाध्य हुने गरेका छन् । महिला हिंसाविरुद्ध कार्यरत संस्थाहरूले महिलाविरोधी विभिन्न कूसंस्कार तथा अन्धविश्वासको अन्त्यका लागि यस्ता संस्थाको औचित्य रहेको बताएका छन् । महिला हिंसा रोक्नका लागि मनाईने भनिएको अभियान भने बर्षमा एक पटक पर्व जस्तो मनाएर महिला हिंसा कम नहुने भएकोले यसलाई पर्व जस्तो भन्दा पनि अभियानको रुपमा मनाउनु पर्ने देखिन्छ । शहर हुने सिमित ¥याली र गोष्ठी भन्दा पनि गाउँसम्म दिवस खोई त पुगेको ?
अहिले मुलुकमा महिला हिंसाको १६ दिने अभियान चलिरहेको छ । यो अभियान आफैंमा नौलो भने होइन । यो प्रत्येक वर्ष निरन्तर चलिरहेको अभियान हो । यसलाई खासमा महिला हिंसा न्यूनीकरणका लागि देशव्यापी रूपमा चालिएको अभियान मानिन्छ । लिंगीय हिसाबले महिलामाथि हुने गरेका र हुँदै आएका हिंसा न्यूनीकरण गर्दै यसको अन्त्यका लागि देशभरका महिलामाझ सचेतना अभियानका रूपमा यसलाई लैजाने गरिएको छ । यो अभियानमा महिलाको सहभागिता र हिंसा अन्त्यका लागि पुरुषका तर्फबाट निरन्तर ऐक्यबद्धता जाहेर गरिने गरेको पनि पाइन्छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न सरकारदेखि समाजका सबै सरोकारवाला पक्ष तथा निकायको सहयोग र सहकार्य आवश्यक पर्छ । स्थानीय स्तरमा यसको बारेमा व्यापक जनचेतना जगाउनु पर्ने आवश्यक छ । १६ दिने अभियान भन्दा पनि हिंसा न्युनिकरण अभियान संचालन गर्नु पर्ने देखिन्छ ।
महिला हिंसा नेपालमा दिन प्रतिदिन बढ्दो छ । तत्काल कम हुने सम्भावना देखिँदैन । बरु एकपछि अर्को गर्दै सतहमा उजागर हुने क्रममा छ । घटना घट्ने र ती सबै गुपचुप रहने वा राखिने कुरा अब महिलाका लागि र स्वयं समाजका लागि पनि असह्यजस्तै बनेको छ । राजधानी सहरदेखि दूरदराजका ग्रामीण इलाकाका महिला हिंसाका घटना सार्वजनिक भइरहेका छन् । यसरी आउँदा महिला हिंसा बढ्दै गएको जस्तो पनि भान परिरहेको छ । तर, भइरहेका र लुकाइएका यस्ता घटना खुला सतहमा आउनु आफैंमा सकारात्मक कुरा हो । अहिले पनि सरकार, सरकारी तथा गैरसरकारी संस्थाहरू र व्यक्तिले महिला हिंसाविरुद्धको १६ दिने अभियान लिएर सिंगो समाजलाई जागृत गराइरहेका छन् । महिला हिंसाविरोधी १६ दिने अभियानलाई हरेक दिन विशेष दिनका रूपमा मनाउन विविध कार्यक्रम आयोजना गरिरहेका पनि छन् ।
सहरी र ग्रामीण इलाकामा तय गरिएका यी विविध कार्यक्रम आफैंमा नयाँ र मौलिक पनि छन् । तर, हामी आफैंले चलाइरहेको महिला हिंसाका अभियान तथा कार्यक्रमले समाजमा कतिको सकारात्मक असर पारिरहेको छ ? हामीले बोलेका बोली र हाम्रा कर्ममा कतिको सामञ्जस्यता आएको छ ? हामीले गर्दै आएका आर्थिक, भौतिक, बौद्धिक र सामूहिक लगानीले सकारात्मक परिणाम ल्याएको छ कि छैन ? हामीले अभियानलाई केवल पर्वका रूपमा मात्र मनाउनुभन्दा हरेक वर्षका प्रतिफलको तुलना गरेर हेर्न र समीक्षा गर्न जरुरी छ होईन भने वर्षमा एक पटक अभियानलाई पर्वको रुपमा मनाउनु बाहेक अरु उपलब्धि नहुन पनि सक्छ ।