नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग र सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार देशभरका धेरै स्थानमा मतदाता दर्ताका क्रममा लामो लाइन र ढिलो सेवाका कारण नागरिकले असुविधा भोग्नुपरेको छ। यस्तो अवस्थाले धेरै व्यक्तिहरू, विशेषगरी जेनजी समूह र युवापुस्तालाई नाम दर्ताबाट वञ्चित हुन सक्ने भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाउनुपर्ने बताएका छन्।
बिहीबार जारी भिडियो वक्तव्यमा पूर्वमन्त्री पौडेलले भने, “नाम दर्ता गर्ने स्थानको सेवा छिटो र छरितो छैन। फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ। त्यसैले कार्तिक मसान्तसम्मको समय थप्नु जरुरी छ।”
उनले निर्वाचन आयोग र सरकारले प्रचार गरेजस्तै सहजीकरण गर्न नसकेको भन्दै नामावली दर्ता प्रक्रिया प्रभावकारी र पहुँचयोग्य बनाउन पनि आग्रह गरे। पौडेलका अनुसार, कार्यालयहरूमा थप जनशक्ति र उपकरणको व्यवस्था गरेर छोटो समयमा धेरै काम सक्ने वातावरण बनाउनुपर्ने छ।
जेनजी र युवाहरूलाई मतदाता बन्न आह्वान
नेता पौडेलले जेनजी र सबै उमेर समूहका नागरिकलाई मतदाता नामावलीमा दर्ता भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे। उनले भने, “हामी सबैले प्रत्यक्ष रूपमा चाहेको नेतृत्व छान्न मतदाता नामावलीमा नाम दर्ता गरेर सहभागी बन्नुपर्छ।”
१६ वर्षदेखि मतदान अधिकार र उम्मेदवार बन्ने उमेर घटाउन माग
पौडेलले मतदानको उमेर १६ वर्ष र उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाउनुपर्ने माग पनि गरेका छन्। उनका अनुसार, चेतना भएका सबै उमेर समूहका नागरिकलाई मतदानमा सहभागी हुन पाउने वातावरण बनेमा लोकतन्त्र अझ सुदृढ हुन्छ।
उनले थपे, “बढीभन्दा बढी नागरिक सहभागी भए मात्र जनताले चाहेको सही प्रतिनिधि निर्वाचित हुने अवस्था बन्छ।”