नेपालको प्रमुख व्यापारिक नाका र औद्योगिक केन्द्र वीरगञ्ज अहिले एक असामान्य र पीडादायी अवस्थाबाट गुज्रिरहेको छ । कहिल्यै नरोकिने व्यापारिक चहलपहल, सवारीसाधनको निरन्तर आवतजावत र बजारको जीवन्तता बोकेको यो शहर अहिले एकाएक सुनसान, धुलाम्मे र अस्तव्यस्त देखिन्छ । हालै गरिएको सडक विस्तार अभियानअन्तर्गत त्रिभुवन राजपथ क्षेत्रका संरचना भत्काइएपछि वीरगञ्जको मुहार नै कुरुप देखिएको छ । कतिपय स्थानमा देखिने दृश्यले युद्धपछिको भग्नावशेष सम्झाउँछ–आधा भत्किएका घरहरू, छरिएका इँटा, फलामका टुक्राहरू र धुलोले ढाकिएका सडकहरू ।
इतिहासतर्फ फर्किँदा, वीरगञ्जको महत्व अझ स्पष्ट हुन्छ । एक समय वीरगञ्जदेखि बाराको अमलेखगञ्जसम्म रेल सेवा सञ्चालनमा थियो, जसले व्यापार र यातायातलाई ठूलो सहयोग पु¥याएको थियो । पछि त्यही मार्गमा त्रिभुवन राजपथ निर्माण भयो, जसले वीरगञ्जलाई पथलैया, मकवानपुर हुँदै काठमाडौंसँग जोड्यो । यही राजपथले देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको छ । तर, अहिले त्यही राजपथ विस्तारको नाममा शहरको मुख्य भाग भत्किँदा स्थानीयहरू गम्भीर असर भोगिरहेका छन् ।

सडक विभागले राजपथको क्षेत्राधिकारभित्र पर्ने घर, पसल र अन्य संरचनाहरू भत्काएको छ । तर पूर्ण रूपमा हटाउने सट्टा धेरै ठाउँमा अगाडिको भागमात्रै भत्काएर छोडिएको छ, जसले दृश्यलाई अझ विक्षिप्त बनाएको छ । मुख्य सडकमा रहेका सटरहरू लत्रिएका छन्, पसलहरू बन्द छन् र बजारमा चहलपहल हराएको छ । आर्थिक गतिविधिको मुहान मानिएको यो शहर अहिले सन्नाटामा डुबेको जस्तो देखिन्छ ।
यद्यपि सामाजिक सञ्जालमा वीरगञ्जको भविष्यलाई लिएर आकर्षक चित्रहरू प्रस्तुत भइरहेका छन्, हरियालीयुक्त पार्क, चौडा सडक, व्यवस्थित फुटपाथ र आधुनिक संरचनाहरूसहितको शहर । तर, वर्तमान अवस्था भने अत्यन्त कठिन छ । फुटपाथ अवरुद्ध भएकाले पैदलयात्री र सवारीसाधन एउटै सडक प्रयोग गर्न बाध्य छन्, जसले दुर्घटनाको जोखिम बढाएको छ । दैनिक जीवनयापनमा कठिनाइ थपिएको छ, विशेष गरी बालबालिका, वृद्ध र मजदूर वर्गका मानिसहरू बढी प्रभावित भएका छन् ।
सामाजिक सञ्जालमा वीरगञ्जको भविष्यलाई लिएर आकर्षक चित्रहरू मध्य एक चित्रसडक विस्तार योजना आफैंमा आवश्यक मानिए पनि यसको कार्यान्वयन शैलीप्रति स्थानीयवासी असन्तुष्ट छन् । वर्षौंदेखि व्यापार गर्दै आएका व्यापारीहरूलाई अचानक विस्थापित गरिएको छ । प्रशासनले केवल १२ घण्टाको समय दिएर संरचना खाली गर्न निर्देशन दिएको थियो, त्यो पनि रातको समयमा । यसले धेरैलाई तयारी गर्ने मौका नै दिएन । बिहानै डोजर लिएर आएको टोलीले घर र पसल भत्काउन थालेपछि कतिपयले सामान जोगाउन भ्याए, तर धेरैले आफ्नो सम्पत्ति गुमाए ।
स्थानीय बासिन्दा राजेश क्यालले सरकारको यो कदमलाई कठोर र असंवेदनशील बताएका छन् । उनका अनुसार कम्तीमा एक हप्ताको समय दिइएको भए मानिसहरूले व्यवस्थित रूपमा आफ्नो सामान सार्न सक्थे । उनी भन्छन्, ‘यस्तो शैली नागरिकको आधारभूत अधिकारमाथि सीधा हस्तक्षेप हो । विकास आवश्यक भए पनि त्यसको कार्यान्वयन मानवोचित र योजनाबद्ध हुनुपर्ने हो ।’

भत्काइपछि बढेको धुलो र प्रदूषणले जनस्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको छ । सडक किनारमा बस्ने मानिसहरू, विशेषगरी बालबालिका र वृद्धहरू, श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिममा छन् । स्थानीय दीपक सर्राफका अनुसार अहिले मास्क लगाउनु अनिवार्यजस्तै भएको छ । आधा भत्किएका संरचनाहरूले दुर्घटनाको सम्भावना पनि बढाएको छ, विशेषगरी रातको समयमा पर्याप्त प्रकाश नहुँदा जोखिम झन् बढेको छ ।
स्थानीय तह र सम्बन्धित सरकारी निकायहरूले भने यो सबै दीर्घकालीन विकासका लागि गरिएको दाबी गरेका छन् । उनीहरूको भनाइ अनुसार फराकिलो सडकले यातायातलाई सहज बनाउने, व्यापार वृद्धि गर्ने र शहरलाई आधुनिक स्वरूप दिनेछ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले अहिलेको अवस्थालाई ‘सुन्दर वीरगञ्जको प्रसव वेदना’ भनेर व्याख्या गरेका छन् । उनका अनुसार अहिलेको असहजता भविष्यको राम्रो परिणामका लागि आवश्यक प्रक्रिया हो ।

डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक विस्तार योजनाअन्तर्गत करिब १,२०० घर तथा संरचनाहरू भत्काइएको छ । हाल ती संरचनाहरू पूर्ण रूपमा हटाइने प्रक्रियामा छन् र भविष्यमा ६ लेनको फराकिलो सडक निर्माण गरिने योजना छ । यस योजनाअन्तर्गत सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गरिनेछ । तर, यो सम्पूर्ण प्रक्रिया पूरा हुन कम्तीमा तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार शहर अहिले पीडा र सम्भावनाको दोबाटोमा उभिएको छ । सडक विस्तार सम्पन्न भएपछि वीरगञ्ज अझ व्यवस्थित, सुन्दर र आधुनिक बन्ने उनको विश्वास छ । भौतिक योजना तथा यातायात मन्त्रालयको योजनाअनुसार तीन वर्षभित्र ६ लेन सडक निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

तर, स्थानीयवासीहरूको जीवन अस्तव्यस्त बनाउने गरी गरिएको यस्तो कार्यान्वयनले दीर्घकालीन लाभ दिन सक्छ कि सक्दैन भन्ने बहस जारी छ । विकास आवश्यक छ, तर त्यसको प्रक्रिया पनि उत्तिकै संवेदनशील, समावेशी र व्यवस्थित हुनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ ।लएकातिर उज्ज्वल भविष्यको आशा, अर्कोतिर वर्तमानको कठोर यथार्थ । धुलो, भग्नावशेष र सन्नाटाबीच पनि यहाँका बासिन्दाहरू नयाँ सुरुवातको प्रतीक्षा गरिरहेका छन् । समयले नै देखाउनेछ कि यो पीडा साँच्चै समृद्धिको आधार बन्नेछ वा केवल एक अव्यवस्थित परिवर्तनको उदाहरणका रूपमा सीमित रहनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३ ११:४३