नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले हाल उत्पन्न परिस्थितिबाट मुलुकलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
उनका अनुसार २०८२ भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपश्चात् सिर्जित अवस्थाले सिंगो देश अन्यौलमा परेको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले भनेका छन्, “लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन र देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न हामी सबै एकजुट हुन आवश्यक छ।”
सहादतप्रति श्रद्धाञ्जली र बल प्रयोगको निन्दा
पौडेलले भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्राण गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोग तथा स्वार्थी समूहद्वारा गरिएको आगजनी, तोडफोड र जनधनको क्षतिलाई घोर भत्सर्ना गरेका छन्।
त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतामाथि भएको आक्रमणको निन्दा गर्दै उनले दोषीलाई निष्पक्ष छानबिनमार्फत कानूनी दायरामा ल्याउन माग गरेका छन्।
राष्ट्रपति पहलको स्वागत, संवाद र एकताको आग्रह
देशलाई शान्ति र प्रगतितर्फ फर्काउन संयम, संवाद र राष्ट्रिय एकताको खाँचो रहेको भन्दै पौडेलले राष्ट्रपतिद्वारा थालिएको संवाद पहललाई स्वागत गरेका छन्। उनले सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र आमनागरिकलाई समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।
उनले भने, “यो संकटलाई हामी सबैले राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने समय आएको छ। युवाहरूको भावनाबमोजिम वर्तमानमा निकास खोज्न संविधान र विधिको शासन भित्र रहेर समाधान खोज्न जरुरी छ।”
कांग्रेसभित्र सुधार र प्रस्ताव
पौडेलले तत्काल अन्तरिम सरकार गठन गरी राजनीतिक शून्यतालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। त्यसका लागि जेन जेड आन्दोलनकारी, राजनीतिक दल र सरोकारवालासँग अविलम्ब संवाद थाल्नुपर्ने उनको भनाइ छ।
उनले संविधान संशोधनमार्फत संरचनागत सुधारको प्रस्ताव पनि गरेका छन्। प्रतिनिधि सभालाई १०५ सदस्यीय बनाउन, सबै सांसद प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न, प्रदेश र स्थानीय तहको संरचना घटाउन, संघीय मन्त्रिपरिषदलाई १५ सदस्यीय र प्रदेश मन्त्री परिषदलाई बढीमा ५ सदस्यीय बनाउनुपर्ने सुझाव दिएका छन्।
भ्रष्टाचार नियन्त्रणका लागि २०४६ सालदेखि उच्च पदमा रहेका सम्पूर्ण नेताहरूको सम्पत्ति छानबिन गरी अनियमित ढंगले आर्जन गरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ। साथै, निजामती प्रशासन र सुरक्षा निकायमा आमूल सुधार गरी सक्षम प्रणाली निर्माण गर्नुपर्ने प्रस्तावसमेत उनले अघि सारेका छन्।
पार्टी नेतृत्वप्रति आलोचना
पौडेलले हालको पार्टी नेतृत्वले तत्काल राजीनामा दिएर ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्। नयाँ पुस्तालाई अटाउने खालको संगठनात्मक पुनःनिर्माण नगरे कांग्रेस समयसापेक्ष बन्न नसक्ने उनले बताएका छन्।
समाप्तिमा उनले भनेका छन्, “नेपाली कांग्रेसले विगतमा लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा नेतृत्व गरेको जस्तै, आजको संकटमा पनि संवाद, सहमति र संवैधानिक प्रक्रियामार्फत राष्ट्रलाई स्थिरताको बाटोतर्फ लैजानुपर्ने छ।”