नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै उनीहरूले जारी अपिलमार्फत आत्मालोचना गरेका छन्। बेथिति र भ्रष्टाचार मौलाएको, सत्तालाई जवाफदेही बनाउन नसकेको र नयाँ पुस्ताको आकांक्षा समयमै बुझ्न नसकेको विषयमा गम्भीर आत्मसमीक्षा गरिएको अपिलमा उल्लेख छ।
महामन्त्रीद्वयले भनेका छन्, “अब फेरिएको परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेपाली कांग्रेसलाई जरैदेखि पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं।”
२४ भदौमा भएको प्रदर्शन लोकतान्त्रिक विरोधको मर्मबाट बाहिर गएको भन्दै अपिलमा भनिएको छ, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा आगजनी हुनु गम्भीर छ।” सोमबारको घटनाबाट १० वर्षे माओवादी द्वन्द्वभन्दा बढी क्षति भएको दाबी गर्दै उनीहरूले पार्टी सभापति शेरबहादुर देउवा लगायत नेतामाथिको आक्रमणको निन्दा गरेका छन्।
महामन्त्रीद्वयले राष्ट्रपतिको पहलमा संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै, प्रदर्शनका क्रममा बल प्रयोगबाट ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
अपिलमा भनिएको छ, “हिजोको आन्दोलन लोकतान्त्रिक प्रक्रिया कमजोर बनाउने होइन, अझ सशक्त र जनउत्तरदायी दल बन्ने अवसर हो। अबको नेपाली कांग्रेसले जनताको अपेक्षा, जेनजी पुस्ताको भावना र भिन्न पुस्ताको अभिमतलाई आत्मसात गर्दै अघि बढ्नेछ।”
यस्तै, देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन सम्पूर्ण प्रयास केन्द्रित गर्ने र सामाजिक एकता तथा सद्भावलाई सुदृढ बनाउन सबैलाई अपिल गरिएको छ।