आजको डिजिटल युगमा तपाईको बच्चा मोबाइल, ट्याब्लेट, टेलिभिजन वा कम्प्युटरको अगाडि कति समय बिताउँछ? के त्यो समय उनको मानसिक, शारीरिक र भाषिक विकासका लागि सुरक्षित छ?
वैज्ञानिक अनुसन्धानहरू भन्छन्—शुरुआतमा रमाइलो लाग्न सक्ने यस्ता स्क्रिन उपकरणहरूको अत्यधिक प्रयोगले बालबालिकाको भाषा विकास, ध्यान केन्द्रित गर्ने क्षमता, निद्रा, सामाजिक व्यवहार र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
स्क्रिन टाइम भनेको के हो?
कुनै पनि स्क्रिन—जस्तै टेलिभिजन, मोबाइल वा ट्याब्लेट—को अगाडि बसेर भिडियो हेर्नु, गेम खेल्नु वा सामाजिक सञ्जाल चलाउनु स्क्रिन टाइम हो। यस्तो बेला बच्चा एकै ठाउँमा बसिरहन्छ र शारीरिक गतिविधि नगर्ने हुँदा उनीहरूको समग्र विकासमा असर पर्न सक्छ।
तपाईंको बच्चाका लागि कति स्क्रिन टाइम ‘धेरै’ हो?
अनुसन्धानले देखाएको छ कि स्क्रिन टाइमको मात्राले बच्चाको बोल्ने, सोच्ने, सामाजिक बनावट र निद्रामा प्रत्यक्ष असर पार्छ।
०–५ वर्षका लागि सिफारिस:
- ०–२ वर्ष: कुनै पनि स्क्रिन नदेखाउने। विशेष परिस्थितिमा मात्र अभिभावकको साथमा देखाउन सकिने।
- २–५ वर्ष: ३० मिनेटभन्दा बढी स्क्रिन टाइम नदिनु।
विशेष सल्लाह: सकेसम्म ठूलो स्क्रिन (जस्तै टेलिभिजन) प्रयोग गर्नुहोस्। मोबाइल बालबालिका शान्त पार्ने साधनको रूपमा प्रयोग नगर्नुहोस्।
६–१० वर्षका लागि सिफारिस:
- बिहान उठ्ने बेला मोबाइल प्रयोग नगर्ने।
- हप्तामा नियमित रूपमा १–२ घण्टा मात्र स्क्रिन प्रयोग गर्ने।
- सुत्नुअघि कम्तिमा १ घण्टा स्क्रिन नचलाउने।
- मोबाइल/ट्याब्लेट सुत्ने कोठाबाट बाहिर राख्ने।
- बच्चाले के हेरिरहेको छ निगरानी गर्ने।
- हिंसात्मक वा नकारात्मक सामग्री हेर्न नदिने।
- सामाजिक तथा शारीरिक गतिविधिमा संलग्न गराउने।
धेरै स्क्रिन टाइमले के असर गर्छ?
- भाषा विकासमा ढिलाइ
- सामाजिक व्यवहारमा समस्या
- निद्रामा अवरोध
- मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव
- ध्यान केन्द्रित गर्ने क्षमतामा कमी
स्क्रिनको सट्टामा के गर्न सकिन्छ?
- हिँड्ने, दौडने, साइकल चलाउने भौतिक गतिविधिमा प्रेरित गर्नुहोस्।
- सँगै समय बिताउने, गफ गर्ने, किताब पढ्ने वा कथा वाचन गर्ने बानी बसाल्नुहोस्।
- साथीभाइसँग घुलमिल हुने अवसर सिर्जना गर्नुहोस्।