रञ्जना पण्डित वीरगञ्ज महानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हुन् । उनले ५ वर्षदेखि शाखा प्रमुखको दायित्व निर्वाह गरिरहेकी छन् । प्रमुख रञ्जना पण्डितसँग वीरगञ्जमा महिला सशक्तीकरण, लैङ्गिक हिंसा र सरोकारका विविध विषयमा मध्य नेपालले गरेको कुराकानी:
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले मात्र हिंसा न्यूनीकरण गर्न सम्भव छ ?
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले मात्र हिंसा न्यूनीकरण गर्न सम्भव छैन । हिंसाविरुद्धको १६ दिने अभियानलाई एउटा पर्वकोे रुपमा मात्र मनाउने गरेका छौं । यो अन्तर्राष्ट्रिय अभियान हो । महिला हिंसा न्यूनीकरण गर्न वर्षभरि नै हामीले पहल गर्नु पर्छ । महिला र बालबालिका क्षेत्रले मात्र गरेर पुग्दैन । महिला बालबालिका र अपाङ्गको क्षेत्रमा सवालहरू धेरै छन् । हिंसा किन भइरहेको छ । त्यसको पछाडि धेरै कारणहरू हुन्छ । हिंसा भइसकेपछि हिंसाबाट प्रभावित हुने बालबालिकालाई कसरी व्यवस्थापन गर्ने, हिंसाबाट प्रभावित हुने महिला तथा बालबालिकाहरूको अवस्था कस्तो छ ? सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको समन्वयमा मात्र हामीले न्यूनीकरण गर्न सक्छौं । महानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सीमित जनसंख्याले मात्र ३२ वटा वडामा हिंसा न्यूनीकरण गर्न सकिँदैन ।
शहरी क्षेत्रमा गरेको अभियानले ग्रामीण भेगको हिंसा न्यूनीकरणको उद्देश्यलाई समेट्न सक्छ ?
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अन्तर्गत प्रभातफेरि कार्यक्रमहरू गरेका छांै । यो एउटा सिम्बोलिक कार्यक्रममात्र हो । कार्यक्रममा संघसंस्थाहरू महिला समूह, सहकारीहरूले पनि आआफ्नो ठाउँमा मनाएर महिला हिंसाविरुद्धको अभियानलाई हातेमालो गर्दै सहयोग गरेका छन् । महानगरभित्र रहेका निजी विद्यालय र सामुदायिक विद्यालयहरूमा पनि हरेक हप्ता शुक्रबार गरिने अतिरिक्त क्रियाकलापमा लैङ्गिक हिंसाको विषयलाई समेटेर कार्यक्रम गर्न पत्रचार गरेका छौं । प्रविधिबाट धेरै बालबालिकाहरूलाई पनि अप्ठ्यारो परेको छ । प्रविधिलाई सही सदुपयोग गरौं । लागूऔषध, साइबर क्राइम, बालविवाह र प्रजनन् स्वास्थ्यसँग सम्बन्धित सबै कुराहरूलाई राखेर विद्यालयमा छलफल कार्यक्रम चलाउन विद्यालयलाई परिपत्र गरेको छ । वडाहरू, महिला समूह, सहकारीलाई पनि कार्यक्रमका लागि परिपत्र गरेका छौं । यसले उद्देश्यलाई सहयोग गर्छ ।
वीरगञ्ज महानगरबाट महिला हिंसा न्यूनीकरणमा कस्ता कामहरू भएका छन् ?
महिला हिंसासँग सम्बन्धित रहेर महिलाहरूलाई आर्थिक सहयोगको काम गरेका छौं । हिंसा न्यूनीकरणका लागि कानूनी सचेतनाको कार्यक्रमका साथै आर्थिक रूपले कसरी सक्षम बनाउने, सीपहरू सिकाउने, आत्म निर्भर बनाउने विभिन्न संघसंस्थासँग समन्वय गरेर ग्रामीणस्तरमा कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।
महिला हिंसा न्यूनीकरण गर्न कस्तो रणनीति बनाउनुभएको छ ?
महानगरले लैङ्गिक हिंसाविरुद्ध नीति र ५ वर्षे कार्ययोजना बनाएर पारित गरिसकेको छ । त्यो कार्ययोजनाभित्रका कार्यक्रमहरू प्रत्येक वर्ष सम्पन्न गर्दै जानु पर्छ । महानगरले सरोकावाला सबै संघसंस्थाहरूलाई पनि सहकार्य गरेर हिंसा न्यूनीकरणमा सहयोग गर्न आह्वान गरेका छौं । संघंस्थाहरूको वार्षिक कार्ययोजनामा यी कार्यक्रमलाई समेटेर समन्वयकारी भूमिकामा अगाडि बढ्न पहल गरिरहेका छौं । महिलाहरूका लागि सचेतानका कार्यक्रम, बालविवाह न्यूनीकरण, महिला रोजगारीसम्बन्धी, महिलाहरूको आवाज बुलन्दीका कुराहरू, हिंसामा परेकाहरूलाई राहत, सहयोग, समन्वय, पारिवारिक पुनर्मिलन, स्थापना, सीप सिकाउने, रोजगारीमा महिलाहरूलाई कसरी टिकाउने, आत्मनिर्भर बनाउने विषयमा महिला बालबालिका, अपाङ्गलाई समेटेर कार्यक्रम तयार भएको छ ।
महानगरको बजेट र जनशक्तिले हिंसा न्यूनीकरण सम्भव छ ?
महानगरको ३२ वटा वडामा नै परिचालित हुनुपर्ने र महिला बालबालिका शाखामा जनशक्ति पनि कम भएकोले गाह्रो नै छ । सबै संघसंस्थाहरूको सहयोग र समन्वयमा कार्यक्रमलाई अगाडि बढाइरहेको छौं । हिंसा ग्रामीण क्षेत्रमा धेरै र शहरी क्षेत्रमा थोरै भन्ने हँुदैन । शहरी भेगमा ठूलाठूला धनाढ्य परिवारका महिलाहरू हिंसा पीडित छन् । उनीहरूको आवाज बाहिर ल्याउँदा परिवारको प्रतिष्ठा जाने सोचले आज पनि कुण्ठित आवाज घरभित्र छ । कार्यक्रमहरू ग्रामीण लक्षित भएको हुनाले गाउँस्तरमा किशोरकिशोरीहरूका अभिभावकहरूलाई राखेर सूचना प्रविधिसँग सम्बन्धित विषयहरूलाई कार्यक्रम गर्ने निर्णय भएको छ । बालबालिकाहरूले मोबाइलको धेरै प्रयोग गर्ने गरेको पाइन्छ । मोबाइलमा बच्चाहरूले के हेर्दै छ ? कोसँग कुरा गर्दै छ ? यो विषयमा आमाबुबा र परिवारको अन्य सदस्यहरूले पनि निगरानी, जानकारी लिने, बच्चाहरूको मनोभावअनुसार उनीहरूको कुरा सुनिदिने र बुझिदिने गर्नु पर्छ । बच्चाहरूको उमेर सँगसँगै शारीरिक परिवर्तन हुने भएकोले तीसँग सम्बन्धित विषयहरूलाई पनि अभिमुखीकरण गर्न खोजिरहेका छौं ।
महिला हिंसा न्यूनीकरण गर्न कसको भूमिका हुनु पर्छ ?
लैङ्गिक हिंसासम्बन्धी समस्या राष्ट्रियस्तरको नै समस्या हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्न परिवारले नै बुझ्नु पर्छ । छोरीलाई पढाएर आत्मनिर्भर बनाउन र सीप सिकाएर रोजगारीमा आर्थिक रुपमा सबल भएपछि मात्र विवाह गराउनु परिवारको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक दलका प्रतिनिधिहरूले पनि कार्यान्वयन तहमा जाँदा सामाजिक विकासलाई जोड दिएमा महिला हिंसा न्यूनीकरण हुन सक्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
लैङ्गिक हिंसाविरुद्धको अभियानमा महानगरले धेरै काम गर्न सोचिरहेको छ । तर, गर्न सकिरहेको छैन । ग्रामीण क्षेत्रमा महिला हिंसामा परेका महिलाहरूलाई सेफ हाउस नभएको कारण कहाँ लगेर व्यवस्थापन गर्ने र कसरी गर्ने समस्याको पाटो छ । राजनीतिक दलका व्यक्तिहरूले यो विषयमा चासो लिएर व्यवस्थापन गरिदिएमा हिंसा पीडित महिलाहरूलाई घरमा नै दमन र शोषण सहेर बस्नु पर्दैनथ्यो । यो विषयमा राजनीतिक दलका व्यक्तिहरूले गहन भएर सोच्नु पर्छ ।