भारत र पाकिस्तानबीच हालैको दशककै भीषण सैन्य संघर्षलाई रोेेकेर शनिबार आकस्मिक रूपमा युद्धविरामको सहमति भएको छ। आणविक हतियारधारी दुई छिमेकी मुलुकबीचको हिंसात्मक घटनाक्रम नियन्त्रणबाहिर जाँदै गर्दा यस्तो युद्धविराम भएको हो।
ट्रम्पको घोषणा, तर भारत–पाकिस्तानबीच फरक धारणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ Truth Social मा पोस्ट गर्दै युद्धविरामको घोषणा गरे र त्यसको श्रेय समेत लिए। उनले लेखे, “अमेरिकी मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन्।” ट्रम्पले दुबै मुलुकका नेताहरूलाई ‘बुद्धिमत्ता र विवेक’ प्रयोग गरेको भन्दै बधाई दिएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुबै देश युद्धविराम मात्र होइन, तटस्थ स्थानमा विस्तृत वार्ताका लागि पनि सहमत भएको दाबी गरे। रुबियोका अनुसार उनी र उपराष्ट्रपति जे.डी. भान्सले गत दुई दिन भारत–पाकिस्तानका उच्च अधिकारीहरूसँग गम्भीर छलफल गरेका थिए।
पाकिस्तानले युद्धविराम तत्काल लागू भएको पुष्टि गर्यो भने भारतले पनि चाँडै त्यसको पुष्टि गर्यो। तर भारतको सूचना मन्त्रालयले भने सम्झौता दुबै देशबीच प्रत्यक्ष संवादबाट भएको दाबी गर्दै अमेरिकी भूमिकालाई न्यून बनायो। मन्त्रालयका अनुसार, “भविष्यमा थप वार्ता गर्ने निर्णय भइसकेको छैन।”
तर पाकिस्तानले भने अमेरिकी नेतृत्वको खुलेर प्रशंसा गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले भने, “क्षेत्रीय शान्तिका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व र सक्रिय भूमिकाको लागि हामी आभारी छौं।”
सम्झौतामा फरक दाबी किन?
विश्लेषकहरूका अनुसार भारत र पाकिस्तानको युद्धविरामबारे फरक धारणा आश्चर्यजनक होइन। भारतले सधैं आन्तरिक र द्विपक्षीय मामिलामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ। अर्कोतर्फ, अन्तर्राष्ट्रिय सहयोगमा निर्भर पाकिस्तानले सधैं अन्तर्राष्ट्रिय दबाबको खोजी गर्ने गरेको छ।
वासिङटनस्थित हडसन इन्स्टिच्युटकी अनुसन्धानकर्ता डा. अपर्णा पाण्डेका अनुसार, “भारतले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, चाहे त्यो पाकिस्तानसँग होस् वा चीनसँग। पाकिस्तान भने सधैं त्यसमा भरोसा गर्छ, किनकि यसले मात्र उसलाई काश्मीर मुद्दामा भारतमाथि दबाब सिर्जना गर्न सहयोग गर्छ।”
शनिबार के भयो?
शनिबार बिहानै भारतले पाकिस्तानका विभिन्न सैन्य बेसहरूमा मिसाइल आक्रमण गरेको पाकिस्तानको दाबी छ। त्यसको जवाफमा पाकिस्तानले पनि भारतका हवाई बेसहरूमा प्रतिआक्रमण गरेको जनाइएको छ।
पाकिस्तानी सेनाले यसलाई “आँखा साटो आँखा” रणनीति भनेको छ। भारतीय नियन्त्रणको काश्मीर क्षेत्र, विशेष गरी श्रीनगर र जम्मुमा विस्फोटको खबर पनि आएको छ। प्रधानमन्त्री शरीफले भारतको आक्रमणलाई “ठोस जवाफ” दिएको बताएका छन्।
चार दिनसम्म दुबै देशले एक–अर्काको भूमिमा सिधा आक्रमण गरेपछि युद्ध थप बढ्ने चिन्ता थियो।
संकटको सुरु कसरी भयो?
यो संकट काश्मीरबाट सुरु भएको हो, जुन सन् १९४७ मा भारत–पाकिस्तान स्वतन्त्रतापछि विवादको मुख्य केन्द्र बनिरहेको छ। दुबै देशले काश्मीरलाई आफ्नो हिस्साको रूपमा दाबी गरे पनि भाग–भागमा नियन्त्रण रहेको छ।
अप्रिल २६ मा भारतीय–नियन्त्रित काश्मीरको पहलगाममा पर्यटकमाथि बन्दुकधारी आक्रमण भयो, जसमा २५ भारतीय र १ नेपालीको मृत्यु भयो। भारतले यस घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगायो तर पाकिस्तानले त्यसलाई अस्वीकार गर्यो।
त्यसको दुई सातापछि भारतले ‘अपरेशन सिन्धूर’ नाम दिँदै पाकिस्तान र उसको नियन्त्रणमा रहेको काश्मीरमा हवाई आक्रमणहरू शुरू गर्यो।
अमेरिका किन संलग्न भयो?
केही दिनअघि मात्र अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले भारत–पाकिस्तान युद्ध अमेरिकाको चासोको विषय होइन भन्दै अमेरिका प्रत्यक्ष संलग्न नहुने बताएका थिए। तर शुक्रबार अत्यन्त संवेदनशील गुप्तचर सूचनाहरू प्राप्त भएपछि अमेरिका अचानक सक्रिय भएको बताइएको छ।
अमेरिकी अधिकारीहरूले CNN लाई जानकारी दिँदै भनेका छन् कि युद्ध आणविक स्तरसम्म पुग्न सक्ने सम्भावना देखिएपछि स्टेट डिपार्टमेन्टले तत्काल दुवै पक्षसँग वार्ता गर्नुपर्ने निर्णय गर्यो।
युद्धविराम टिक्ला त?
हाल युद्धविराम लागू भएको भए पनि यसको दीर्घकालीनता अझै अनिश्चित छ। भारतका विदेश सचिव विक्रम मिस्रीले युद्धविराम घोषणा केही घण्टामै पाकिस्तानले उल्लंघन गरेको आरोप लगाएका छन्।
पाकिस्तानले पनि भारतमाथि उल्लंघनको आरोप लगाएको छ तर आफू युद्धविरामको ‘पूर्ण पालन’ गर्न प्रतिबद्ध रहेको जनाएको छ।
यसबीच, दुबै देशले एक–अर्काविरुद्ध कूटनीतिक र व्यापारिक कारबाही गरेका छन् । भिसा स्थगन, व्यापार रोक, जल सम्झौता निलम्बन जस्ता यी कदमहरू फिर्ता हुने हो कि भन्ने अहिले प्रस्ट छैन।