भारत–पाकिस्तानबीचको चुलिँदो तनावलाई मध्यनजर गर्दै भारत सरकारले टेरिटोरियल आर्मी (टीए) परिचालन गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयले भारतीय स्थलसेनाका प्रमुखलाई १४ वटा टीए बटालियनलाई विभिन्न प्रमुख कमाण्डहरूमा तैनाथ गर्न अनुमति दिएको हो।
हाल देशभर रहेका ३२ वटा टेरिटोरियल आर्मी बटालियनमध्ये चयन गरिएका १४ बटालियनलाई दक्षिणी, पूर्वी, पश्चिमी, केन्द्रीय, उत्तरी, दक्षिण–पश्चिम कमाण्ड, अण्डमान–निकोबार कमाण्ड तथा आर्मी ट्रेनिङ कमाण्ड (ARTRAC) मा खटाइने बताइएको छ।
के हो टेरिटोरियल आर्मी?
टेरिटोरियल आर्मी भारतको दोस्रो पंक्तिको सुरक्षा बल हो । जसमा डाक्टर, इञ्जिनियर, व्यवसायी जस्ता नागरिक पेशामा आबद्ध व्यक्तिहरू संकटको बेला राष्ट्रसेवामा सहभागी हुन्छन्। वर्षमा दुई महिना नियमित तालिम लिने यी स्वयंसेवक आपतकालमा सेनाजस्तै सेवा र सुविधा पाउँछन्।
हाल टीएमा करिब ५०,००० स्वयंसेवक कार्यरत छन्, जसमा रेलवे, ओएनजीसी, इन्डियन आयलजस्ता विभागीय इकाइसँगै इन्फेन्ट्री, इकोलोजिकल टास्क फोर्स र इञ्जिनियरिङ बटालियनहरू पनि छन्।
युद्ध र विपद्को बेला सक्रिय भूमिका
टेरिटोरियल आर्मीको इतिहास सन् १८५७ को स्वतन्त्रता संग्रामसम्म पुग्दछ। औपचारिक रूपमा सन् १९४९ देखि सञ्चालनमा आएको यस बलले १९६२, १९६५ र १९७१ का युद्ध, श्रीलंकाको 'अपरेशन पवन', र देशभित्रको विद्रोह नियन्त्रणमा विशेष योगदान पुर्याएको छ। भूकम्प, बाढी, चक्रवातजस्ता प्राकृतिक प्रकोपमा पनि यसले सक्रिय राहत सहयोग गर्दै आएको छ।
प्रत्येक वर्ष अक्टोबर ९ लाई "टेरिटोरियल आर्मी दिवस" का रूपमा मनाइन्छ।