महानगरमा अझैसम्म व्यवस्थित पशु वद्यशाला नहुँदा वीरगन्ज महानगरवासी अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् । ३२ वटा वडाहरु रहेको वीरगन्ज महानगरमा अझै सम्म व्यवस्थित वधशाला नहुँदा महानगरवासी अश्वस्थकर मासु खान बाध्य भएका हुन् ।
नगरको विभिन्न ठाउँमा माछा मासु विक्री गर्ने घुम्ती, सडक छेउका टेबल र नालामाथि खुल्ला रुपमा मासु विक्री वितरण भइरहेको छ । तर यसको ठोस निगरानी कतैबाट नभएको नगरवासीको गुनासो छ । स्वास्थका लागि साह्रै हानिकारक भए पनि विकल्प नहुँदा अस्वस्थकर नै मासु खान बाध्य भएको उनीहरुको भनाइ छ । अस्वस्थकर मासुकै कारण महानगरवासीहरु विभिन्न रोगको शिकार हुन थालेको स्थानीयको दावी छ ।
स्थानीय तह आफै स्थानीय सरकारका रुपमा परिणत भए पनि गलत कार्यलाई न्यूनिकरण गर्न कतै पहल भएको छैन । नामको लागि भने बेलाबेला अनुगमन गर्ने गरे जस्तो देखिन्छ । जुन प्रभावकारी छैन । महानगरपालिकाको मुल सडक किनार जस्तैः छपकैया, बिर्ता, श्रीपुर, पानीटंकी पछाडी, मुर्ली लगायतका स्थानमा बगरेहरुले जथाभावी रुपमा मासु, माछा बिक्रि गरिरहेको पाईन्छ । यसरी महानगरको उल्लेखित स्थानमा बगरेहरुले बाख्री, खसी, कुखुरा, लोकल तथा आन्द्र प्रदेशका माछा झिड्डा भन्कि रहेको र धुलोमा राखी गुणस्तरहीन अवस्थमा बिक्रि गरिरहँदा समेत सम्बन्धित निकायले भने त्यसलाई रोक्न कुनै पहल नगरेको जो कोहीले सहजै देख्दछ ।
जिल्लाका अरु पालिकाहरुमा नभए पनि महानगरपालिकामा त खाद्य प्रयोगशाला पनि छ । सबै पालिका, जिल्ला प्रशासन कार्यालय पर्साले बजार ब्यवस्थापन अन्तर्गत विभिन्न कर्मचारीहरु खटाएर अनुगमन गर्न नसक्दा जिल्ला भरी नै स्वस्थकर मासु खान पाउने जिल्लावासीको अधिकार खोसिएको छ । वर्षमा एक पटक मात्र दशैंको बेला बाणिज्य कार्यालय लगायतका राज्यका नियमनकारी निकायले अनुगमन गर्ने गरेका छन् । त्यो खासै प्रभावकारी छैन ।
नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष असर पर्ने यस्ता खाद्य सामाग्रीहरु खुलेयाम रुपमा विक्री वितरण भइरहँदा समेत सम्बन्धित निकायको ध्यान पुग्न नसकेकोमा महानगरपालिकाका हस्बुद्दीन मियाको आक्रोस छ । यस्तो आक्रोस व्यक्त गर्ने उनी एक्ला भने होइनन् । उनीसँगै रहेका दिपेश गुप्ताले पनि महानगरपालिकामा शुद्ध मासु किनबेच नभएको बताए ।
भर्खरै सकिएको होली पर्वको बेला पनि महानगरवासीले अस्वस्थ्यकर मासु नै खान बाध्य भए । कति त रोगको शिकार भएका छन् । यसको तथ्याँक भने सबै अस्पतालमा छुट्याएर राखेको छैन । तथापि खानाको कारण फुड पैजनको शिकायत भएका मानिस भने अस्पतालहरुमा आएको चिकित्सकहरुले बताए । जथाभावी रुपमा सडक छेउ तथा गल्ली, गल्ली, चोक चोकमा खुल्ला स्थानमा खसी, बाख्रा, कुखुरा लगायतका पँक्षीहरुलाई वधगर्दा अस्वस्थकर मासु हुने मात्र होइन नगरको शोभा समेत बिग्रिएको छ । सहरी क्षेत्र ओगटेको महानगरको यो अवस्था छ भने जिल्लाका बाँकी स्थानीय तहको अवस्था कस्तो होला ? भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
महानगरपालिका भित्र केही सीमित रुपमा पशलहरु व्यवस्थित गर्ने प्रयास भए पनि उनीहरुलाई हौसला कतैबाट नभएको र ग्राहक पनि खुल्ला ठाउँ तर्फ नै जाने भएकोले पनि स्तरीय ढंगबाट पशल संचालन गर्नेलाई पनि समस्या हुने गरेको माछा मासु व्यवसायी संघ पर्साका पदाधिकारीहरुले बताए । ग्रामीण भेगमा त झन ७५ु खुल्ला ठाउँमा नै मासु विक्री हुने गरेको उनीहरुको भनाइ छ । जिल्लाको पोखरीया, बहुदरमाई, पर्सागढी नगरपालिका, विन्दवासिनी गाउँपालिका, कालिकामाई गाउँपालिका लगायत १४ वटै स्थानीय तहमै कहि पनि व्यवस्थित बद्यशाला नभएको उनीहरुको तर्क छ ।
महानगरमा कहिले काँही खाद्य प्रयोगशाला तथा बजार व्यवस्थापन विभागका कर्मचारीहरुबाट अन्ुगमन भए पनि ग्रामीण भेगमा भने यसलाई रोक्ने कुनै निकाय लागि नपरेको व्यवसायीहरुको दावी छ । हावाहुरी चल्ने अबको मौसममा त सडकको धुलोले मासु नै छोप्ने जस्तो हुन्छ । के गर्ने कुनै पालिकाहरुले यसको विकल्प दिएका छैनन् । त्यसैले पनि पुरानै शैलीले व्यवसाय गर्नु परेको एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए । यस्तो मासु पकाएर खाँदा रोग नलाग्ला भन्न सकिन्न उनले भने ।