लैङ्गिक हिंसा अन्त्यका लागि दुई दिने महिला सम्मेलन सोमबार वीरगंजमा समपन्न भएको छ । सम्मेलनले महिला र पुरुष मिलेर लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाएको हो । एक्सन एडको सहयोग र दिव्य युवा कल्ब पर्सा, वीरगंज महानगरपालिका, राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक्सन एडका पुर्वाञ्चल स्रोत केन्द्रका कार्यकारी अधिकृत शिवनारायण चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा प्रत्येक १० जना मध्ये ९ जना महिलाले आफ्नो जीवनमा कुनै न कुनै रुपमा हिंसा भोगिरहेको अनुसन्धानले देखाएको बताएका थिए । कार्यपत्रले महिला मात्र नभई अहिले पुरुषहरु पनि हिंसाको शिकार भईरहेको देखाएको कार्यकारी अधिकृत चौधरीले जानकारी गराएका थिए ।
पुरुष र महिला एक रथका दुई पाग्रा भएकाले हिसांजन्य अपराधमा कुनैपनी पुरुषले पिडकको पक्षमा उभिनु नहुने वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले बताएकी थिईन् । उनले, जनप्रतिनिधिहरु महिलालाई जागरुकता ल्याउने खालको कार्यक्रममा बढी जोड दिन समेत आग्रह गरेकी थिईन् ।
जुरी नेपालकी अध्यक्ष एवंम् अधिवक्ता शर्मिला श्रेष्ठले प्रत्येक नागरिकमा कानुनी सचेतना हुन जरुरी रहेको बताएकी थिईन् । अहिले लैङ्गिक हिंसाको कुरा गर्दा महिला र पुरुषको कुरा आएपनी तेस्रो लिङ्गीको कुराहरु प्रहरी प्रशासनमा समेत अझै दबिएर आउने गरेकाले यसतर्फ गम्भीर हुनुपर्ने बताएकी थिईन् ।
यसैगरी प्रध्यापक डा.सुष्मा तिवारीले विद्यालयमा पढ्दा देखी नै किशोरीहरुलाई हिंसा हुने र आफुमाथि भएको हिंसा घरपरिवारलाई जानकारी गराउँदा पनी उल्टै किशोरीहरुकै दोष देखाउने चलनले दिनानुदिन हिंसाको घटना बढेको बताईन । उनले महिला हिंसाका घटनामा परिवारले छोरालाईपनी अरु महिलाहरु माथि गर्ने व्यवहार सभ्य हुनेगरी सिकाउनुपर्ने धारणा राखेकी थिईन् ।
महिला जस्तै पुरुषलाई पनि हिंसाको अभास भए महिला माथि हुने लैङ्गिक हिंसा न्यूनिकरण हुन समय नलाग्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवति ढकालले बताएका थिए ।
कार्यक्रममा उपमेयर सल्मा खातुनले महिला हिंसाका घटनाहरु ग्रामिण भेगमै बढी हुने गरेकाले यस्ता कार्यक्रमहरु गाऊँ गाऊँमा पुग्न सक्नुपर्ने बताएकी थिईन् । उनले लैङ्गिक हिंसा न्यूनिकरणको सवालमा जनप्रतिनिधिहरु बढी जिम्मेवार भएकाले पिडकलाई कुनैपनी किसिमको छुट हुनु नपर्ने बताईन् ।
चितवन, मकवानपुर, काठमाडौँ, बारा, पर्सा, सखुवासभा, तेह्रथुम, सिरहा, विराटनगर, मोरङ लगायत पुरुष तथा महिलाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिव्य युवा क्लबका कार्यालय प्रमुख रामाकान्त पटेल, कार्यक्रम संयोजक कोपिला चौलागाई, गैर सहकारी महासंघका अध्यक्ष छठु साह, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम देवनाथ ठाकुरको सभापतित्वमा समपन्न भएको थियो ।