वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रामा यस वर्ष पनि हजारौं श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।
बिहान विशेष पूजा–आराधनापछि सुरु भएको रथयात्रा गहवामाई मन्दिरबाट प्रस्थान गर्दै घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेको थियो। माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार निर्धारित धार्मिक विधिअनुसार रथयात्रा सम्पन्न गरिएको हो।
रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। सुरक्षा निकायले सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्नुका साथै सम्पूर्ण रथयात्रा मार्गमा निगरानी बढाएको थियो। ट्राफिक व्यवस्थापन सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको थियो।
रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालु मन्दिर परिसरमा भेला भएका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको उत्साहमा कुनै कमी ल्याएन। मुख्य सडक विस्तारका क्रममा केही स्थानमा संरचना हटाइएका कारण सामान्य असहजता देखिए पनि भक्तजनहरू भक्तिभावका साथ रथयात्रामा सहभागी भएका थिए।
आयोजक समितिका अनुसार बिहानको रथयात्रापछि दिउँसो १२ बजेसम्म विशेष पूजा सञ्चालन गरिएको थियो। त्यसपछि केही समय विश्राम गरी दिउँसो १ बजेदेखि पुनः पूजा–आराधना सुरु गरिएको छ। धार्मिक विधिअनुसार बेलुका ४ बजे मुख्य हवन, साँझ ६ बजे भव्य महाआरती तथा त्यसपछि साँझ ६:३० बजेदेखि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको छ।
वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक परम्पराको संरक्षण एवं प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकहरूको विश्वास छ।