देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छीजन्य रोग बर्डफ्लु सात जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। पशु सेवा विभाग का अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी मा संक्रमण नियन्त्रणमा आएको हो।
यद्यपि काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक मा भने रोग पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको विभागले जनाएको छ। ती चार जिल्लालाई अझै विशेष निगरानीमा राखिएको छ।
रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको थियो। टोलीले संक्रमित पन्छी, अण्डा, दाना तथा पन्छीजन्य अन्य सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा. मुकुल उपाध्याय ले जानकारी दिए।
संक्रमण थप फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाएका थिए। यस क्रममा अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ।
विभागका अनुसार केही जिल्लामा संक्रमणको अवस्था सामान्य बन्दै गएपछि पन्छीको ओसारपसारमा लगाइएको कडाइ आंशिक रूपमा खुकुलो पारिएको छ।
उच्च मृत्युदर भएको यस संक्रामक रोगलाई थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी जनशक्ति परिचालन गरिएको प्रवक्ता उपाध्यायले बताए।
विभागले पन्छीपालक किसानहरूलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा पन्छीमा शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।