आर्थिक मन्दीको चर्चा चुलिएको बेला जेठ महिनामा मात्रै नेपालले करिब १ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको विप्रेषण प्राप्त गरेको छ। यो रकम वैशाखको तुलनामा १० अर्ब रुपैयाँले बढी हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा (साउनदेखि जेठसम्म) कुल रेमिट्यान्स आप्रवाह १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले वृद्धि हो। अघिल्लो आवमा सोही अवधिमा विप्रेषण वृद्धिदर १७.२ प्रतिशत थियो।
राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार जेठ महिनामात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्ष जेठमा यो रकम १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो।
त्यस्तै, चालु आवको ११ महिनाको अवधिमा अमेरिकी डलरमा मापन गर्दा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १५.२ प्रतिशत थियो।
यसबीच, खुद द्वितीय आय (net secondary income) पनि उल्लेखनीय रूपमा वृद्धि भई १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १४ खर्ब ४३ अर्ब १० करोड थियो।
वैदेशिक रोजगारीको तथ्यांक पनि उस्तै रूपमा उच्च देखिएको छ। जेठसम्म ४ लाख ५२ हजार ३२४ नेपालीले पहिलोपटक श्रम स्वीकृति लिएका छन् भने ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। गत वर्ष सोही अवधिमा क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० जनाले श्रम स्वीकृति लिएका थिए।
विदेशमा पसिना बगाउने श्रमिकको योगदानले नेपालको अर्थतन्त्रमा राहत महसुस गरिए पनि दीर्घकालीन आर्थिक संरचना र रोजगारीको अवसरभित्र सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।