पाकिस्तानमा यो साता तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ, जुन याे महिनामा विश्वकै उच्च तापक्रमको कीर्तिमान तोड्न सक्ने अवस्था हो। गत साता पाकिस्तानको केन्द्रीय तथा दक्षिणी भागमा तापक्रम ४८ डिग्रीसम्म पुगेको थियो। यो साता बुधबारसम्म तापक्रम अझै बढ्ने मौसमविद्हरूले बताएका छन्।
पाकिस्तान मौसम विभागले अप्रिल २६ देखि ३० सम्मका लागि गर्मीको लहर (हीटवेभ) को चेतावनी जारी गर्दै नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। विशेषतः सिंध प्रान्तको नवाबशाह क्षेत्रमा सन् २०१८ को अप्रिलमा मापन गरिएको ५० डिग्री सेल्सियसको विश्व कीर्तिमान तोड्ने सम्भावना रहेको द वाशिङटन पोस्टले उल्लेख गरेको छ।
२१ देशमा अत्यधिक गर्मीको सम्भावना
साता भर ११० डिग्री फारेनहाइट (४३.३ डिग्री सेल्सियस) भन्दा माथिको तापक्रम रहने २१ देशको सूचीमा पाकिस्तानसहित भारत, इरान, कुवेत, साउदी अरेबिया, युएई, कतर, इराक, ओमान, बहराइन, मौरिटानिया, दक्षिण सुडान, नाइजेरिया, इथियोपिया, सेनेगल, चाड, माली, इरिट्रिया, नाइजर र बर्किना फासो पर्छन्।
विश्लेषकहरूले युरोपेली मौसम मोडेल (ECMWF) को आधारमा बुधबार र बिहीबार पाकिस्तानमा तापक्रम ४९ डिग्रीसम्म पुग्न सक्ने बताएका छन्। तर, यही मोडेलले गत साता तापक्रम २–३ डिग्री कम आँकलन गरेकोले वास्तविक तापक्रम ५० डिग्री नाघ्न सक्ने अनुमान गरिएको छ।
केन्द्रीय एसिया र चीनतिर गर्मी सर्ने
साता अन्त्यतिर अत्यधिक तातो हावाको प्रवाह पूर्वतर्फ सर्नेछ, जसले चीनतर्फको तापमान बढाउनेछ। त्यससँगै मध्य एसियाली मुलुकहरूमा समेत गर्मीको लहर देखिनेछ। तुर्कमेनिस्तान र उज्बेकिस्तानमा तापक्रम ३८ डिग्री सेल्सियस नाघ्ने पूर्वानुमान गरिएको छ।
विश्वव्यापी गर्मीको लहर
अप्रिल २०२५ अहिलेसम्मकै अत्यधिक गर्मी महिना बन्ने संकेत देखिएको छ। विश्वको ६३ प्रतिशत भूभागमा औसतभन्दा बढी तापक्रम मापन गरिएको छ। कुल ११६ देशमा सामान्यभन्दा बढी गर्मी छ भने ३९ देशमा सामान्यभन्दा चिसो तापमान देखिएको छ।
यो चरम मौसम परिस्थिति जलवायु परिवर्तनको प्रभावको संकेत हो। सन् २०२५ को पहिलो त्रैमासिक विश्वकै दोस्रो सबैभन्दा गर्मी अवधिको रूपमा रेकर्ड भएको छ, जुन सन् २०२४ पछि दोस्रो स्थानमा पर्छ। यो स्थितिमा एल निनोबाट लानिनोतर्फको संक्रमण हुँदै गर्दा पनि तापक्रम उच्च रहनु वातावरणीय सन्तुलनमा गम्भीर परिवर्तन आएको संकेत मानिएको छ।