महिलाले सम्मानपूर्वक बाँच्न पाउनु पर्ने अधिकार हुँदाहुँदै पनि परम्परावादी सोच, अन्धविश्वास, कुप्रथा, महिला प्रतिको गलत सोचाइ लगायत कतिपय कानुनको कमजोरीले दिनहुँ कुनै न कुनै बहानामा महिलाहरू हिंसाको शिकार भैरहेका छन् । महिला विरुद्धका हिंसा सबैभन्दा लज्जाजनक मानव अधिकारको उल्लंघन हो । यस्तो हिंसालाई कुनै भू–भाग, संस्कृति अथवा धनको सीमाले छेकबार लगाउन सकेको छैन । यस्ता हिंसा लगातार जारी रहने हो भने हामी समानता, विकास एवं शान्तिको बाटोमा लाग्न सक्दैनौं । यस्तो अवस्थामा महिला स्वतन्त्रताको अवस्था के होला आफैं आँकलन गर्न सकिन्छ । स्वतन्त्रता केलाई मान्ने ? चाहेको क्षेत्रमा जागिर खान पाउनु वा मन लागेको विषय पढ्न पाउनु अथवा मन लागेका पहिरनमा सजिएर हिँड्न पाउनु ? के हो स्वतन्त्रता ? कसरी मापन गर्ने उत्तर सहज छैन । यद्यपि समान अधिकार, सहअस्तित्व एवं सहस्वामित्व जस्ता कुराहरू समान परिणाम दिने खालका हुन्छन् । जसले स्वतन्त्रता मापनका लागि मापदण्डको काम गर्छन् । नेपाली परिवेशलाई तुलनात्मक रूपले हेर्दा हिजो भन्दा आज महिलाहरू कानुनी अधिकारबाट बलिया हुँदैछन् । तर उनीहरूको आर्थिक, सामाजिक एवं व्यावहारिक हैसियतमा तात्विक अन्तर आइसकेको छैन । समान अधिकारका लागि महिलाहरुको स्वतन्त्रता केलाई मान्ने ? भन्ने बिषयमा मध्य नेपाल सन्देश साप्ताहिकले विभिन्न क्षेत्रमा आबद्घ व्यक्तिहरुसंग लिएको प्रतिकृया ः


शेख चाँदतारा (सांसद)
नेकपा
अधिकार भित्र पर्ने सम्पुर्ण अधिकारहरु अर्थपुर्ण तरिकाले उपयोग गर्न पाए भने मात्रै महिला स्वतन्त्र छन् भन्न सकिन्छ । होइन भने कहिले पनि महिलाहरु न हिजो थिए न भोलि स्वतन्त्र हुनेछन् । कानुनी रुपमा महिलालाई सवै हक अधिकार दिए पनि व्यवहारिक रुपमा भने निक्कै नै चुनौती छ । ग्रामिण भेगका महिलाहरुलाई घर भित्रकै पहिचान र सम्मानको मुद्धा प्रमुख छ भने पढे लेखेका सचेत महिलाहरुलाई सामाजिकरण, संस्कार, मुल्यमान्यता अनि दोहोरो र तेहोरो जिम्मेवारीले थिचेको छ । आर्थिक, सामाजिक, राजनितिक, सांस्कृतिक आदि कुराले गाँजिएको अवस्थामा कसरी स्वतन्त्र हुन सकिन्छ ?

हरेराम सर्राफ
अधिवतmा, वीरगंज
सर्वप्रथम त महिला घरमा नै स्वतन्त्र छैनन् । घरजग्गा नाममा दर्ता भए पनि उपभोग गर्ने, बिक्री गर्ने, ऋण लिने वा दिने सम्बन्धि निर्णयमा असहमति भए पनि बाध्य पारिएको हुन्छ । यस्ता बिषयहरुमा महिलाको पनि निर्णायक भुमिका भएमा महिलाको सम्पत्ति सम्बन्धि स्वतन्त्रता हुन्छ । घर भित्र घरायसी कामहरु जस्तो भान्साको काम, स्याहारसुसार, संस्कार चलाउने वा सामान खरिद गर्ने आदीमा निर्णायक भुमिका भएमा त्यस्तै आफ्नो स्वास्थ्य सम्बन्धि बिषय जस्तो सामान्य उपचार देखि गम्भीर रोगको उपचार तथा पोषण र खानपान आदीमा निर्णायक भुमिका, आफ्नो रोजगारी चयन गर्ने निर्णयमा भुमिका, प्रजनन स्वास्थ्यमा र आफ्नो सन्तानको स्वास्थ्य सम्बन्धि निर्णयमा तथा सन्तानको शिक्षा आदीमा महिलाको निर्णायक भुमिका भएमा मात्र महिलाको स्वतन्त्रता भन्न मिल्छ तर हाम्रो त्रुटिपूर्ण समाजिक संरचना तथा मान्यताका कारण महिलाले स्वतन्त्रताको अनुभुति गर्न सकेका छैनन् यद्यपि संविधान र ऐन कानुनले महिला र पुरुषमा भेदभाव नगरी दुवैलाई स्वतन्त्रता सम्बन्धि हक र अधिकार प्रदान गरेकोे छ ।

चंचला दास (अध्यक्ष)
वुमेन स्कील सेन्टर
महिला स्वतन्त्रताको बारेमा कुरा गर्दा पहिले यो बुझन आवश्यक छ हामी स्वच्छंदताको कुरा गर्दछौ वा स्वतन्त्रताको । स्वतन्त्रता वैचारिक स्तरमा आउछ भने स्वच्छंदता आचरण र व्यवहारको स्तरमा । कुनै पनि समाज अनि समुदायको आफनो नियम तथा सिमाहरु हुन्छन जुन त्यस समाज वा समुदायको अस्तित्वको लागि प्राय वायु सरह हुन्छ । सिमा तथा परिधि दुवैको लागि निर्धारित गरिएको हुन्छ । त्यो पुरुष वा महिला दुवैका लागि स्वच्छंन्दता र स्वतन्त्रता बिच एउटा मसिनो फरक छ । जुन हामीले बुझनु र विचार गर्नु पर्ने कुरा हो । स्वतन्त्रता कतै उछृंखलतामा त परिणत भइरहेको छैन ? वस्तुः एउटा असल समाज, परिवारको भावी पींढीको राम्रो परिवेशको लागि महिला र पुरुषको अधिकारमा कुनै भेदभाव हुन नदिनु आवश्यक छ । आफ्नो उतरदायित्व निर्वाह गर्नका लागि जुन सुविधा र अवसर पुरुषलाई प्राप्त हुन्छ सो सुविधा तथा अवसरबाट महिलालाई बन्चित गरि उसबाट जम्मेवारी मात्र निर्वाह गर्ने अपेक्षा गर्नु कदापि न्यायोचित हुदैन । अन्ततः महिला भएकै कारणले कुनै भेदभाव नगरि पुरुष सरह नै अवसर उपलब्ध गराउनु र आफ्नो जिवन सम्बन्धि सहि निर्णय लिनमा संक्षम हुनु नै सहि अर्थमा महिला स्वतन्त्रता हो ।

रिसु श्रीवास्तव, सामाजिक अभियन्ता
वीरगंज पर्सा
महिलाहरु घर परिवार र समाजको परम्परगत बन्धनले मुक्त नभए सम्म स्वतन्त्र भएको मानिने छैन । महिलाहरुको वास्तविक स्वतन्त्रताका लागी परिवारीक निर्णय प्रक्रियामा समान अवसर पाउनु पर्दछ । सामाजमा महिलाहरुले समानताको बोध गर्न सक्ने वातावारण हुनु पर्दछ । साथै शिक्षा र रोजगारमा निर्बाध रुपले पहुँच हुनु पर्दछ । अनि मात्र स्वतन्त्र भएको अनुभूति स्वयम महिलाहरुले गर्नु हुनेछ ।

संगिता पुरी (प्रमुख)
माइती नेपाल, वीरगंज शाखा
संबिधान मै महिलाहरुको हक अधिकार सुनिश्चित भएता पनि सबै हक अधिकार भाषण र कागजमै सिमित छन् । स्थानीय तह बनिसकेको अवस्थामा पनि महिलाहरुको सहभागिता बढे पनि महिलाहरुलाई स्वतन्त्रतापुर्वक कार्य गर्ने बातावरण सृजना भएको छैन । कुरा कुरैमा सिमित मात्रै हो । हाम्रो रितिरिवाज, धर्म संस्कृतिको नाममा पनि महिलाहरुले पाउनु पर्ने स्वतन्त्रता माथि अंकुश लगाएको छ । एक जना पुरुष र महिलालाई उति नै अधिकार छ । तर महिला एक छिन पनि ढिलो भयो भने विभिन्न किसिमको आरोप लाग्ने गरेको छ । यस्तो अवस्थामा कसरी स्वतन्त्रताको कुरा गर्ने ? पुरुष र महिला उतिकै गल्ती गर्दा पनी त्यसको आरोप भने महिला माथि नै लाग्ने गर्दछ । यस्तो अवस्थामा महिला स्वतन्त्रताको अवस्था के होला आफैं आँकलन गर्न सकिन्छ ।

सावित्री कडेल (जागिरे)
जितपुर बारा
स्वतन्त्रता हरेक प्राणीको चाहना हो, यस्तोमा महिलाले पनि आफूलाई स्वतन्त्रता पूर्वक बाँच्न पाउने, राज्यको हरेक क्षेत्रमा पुरुष सरह आफ्नो पहुँच स्थापित गराएर आफ्नो छुट्टै पहिचान र स्थान होस् भन्ने चाहना राख्छन्न् र सो पहिचान तथा स्थान पाउन घर, परिवार र समाजबाट सकारात्मक वातावरण, समर्थन र सहयोगको अपेक्षा राख्छन् । यस्तोमा नारीलाई चुलाचौकामा मात्र सीमित राख्ने परम्पराको क्रमभंग गर्न पुरुषहरूले पनि सकारात्मक सहयोग गर्नै पर्छ र गरेका पनि छन् । तर यहाँ स्वतन्त्रतासँगै छाड़ापन पनि भित्रिएको छ, पश्चिमी छाडा संस्कृतिलाई अंगाल्दै आफ्नो समाज, राष्ट्रको पहिचानलाई महिल्याउने कार्यलाई पनि कतिपय महिला अधिकारको क्षेत्रमा काम गर्नेहरुले स्वतन्त्रताको रुपमा परिभाषित गर्ने गरेका छन् जुन गलत हो ।

समसुल हवारी (समाजिक अभियन्ता)
वीरगंज, पर्सा)
सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीताको साथसाथै मानव जिवनका लागि आवश्यक पर्ने गास, वास, कपास, शिक्षा, स्वास्थ, रोजगारी, मनोरञ्जन जस्ता आधारभुत पक्षमा महिलाको सहज पहुँचको अवस्था नै महिला स्वतन्त्रता हो । त्यस्को साथसाथै समाजका सामाजिक गतीविधी तथा पारीवारीक निर्णयमा महिलाको सहभागीता सँगै पैत्रिक सम्पत्तिमा छोरा र छोरीको समान हकको सुुनिश्चितताले समेत महिला अधिकारलाई जनाउँछ, महिलाको स्वतन्त्रतालाई जनाउँछ, परिवार तथा राज्यको तर्फबाट प्रदान गरिने हरेक सेवासुबिधामा सहज पहुँचको अवस्था तथा समतामूलक समानताको अवस्था नै महिला स्वतन्त्रता हो ।

सुष्मा सिंह (शिक्षिका)
वीरगंज १५, पर्सा
सवैभन्दा पहिला स्वतन्त्रता भनेको के हो ? त्यो बुझन जरुरी छ । कानुनमा व्यस्था भए अनुसार सवै मानिस आफैमा स्वतन्त्र छन् । कोहि कसैको कर कापमा बाच्ने छैन भन्ने व्यवस्था छ । महिला स्वतन्त्रता यसै अन्र्तगत पर्छ । कसैको कर काप बिना आफ्नो जीवन बाच्नु, आफ्नो ईच्छा अनुसारको सवै काम गर्न पाउनु नै स्वतन्त्रता हो । महिला हिंसा बढी भएकै कारण महिलाको स्वतन्त्राको कुरा बढी उठेको हो । महिलाहरुको नाममा सम्पति त हुन्छ तर आफ्नो ईच्छा अनुसार उपभोग गर्न पाउदैनन् । यहाँसम्म की पुरुषको चाहना बमोजिम बच्चा जन्माउने समेतको चलन छ, त्यसैले यी सब कुरामा आफ्नो निर्णय गर्न पाउनु नै महिला स्वतन्त्रता हो । ऐन कानुन मात्रले महिला स्वतन्त्रता हुन सक्दैन यसका लागि मस्तिष्कमा बसेको महिला र पुरुष बिचको बिभेदलाई अन्य गर्नु पर्छ ।

लक्ष्मी लामिछाने (गृहणी)
बीरगंज १५
कुनै पनि क्षेत्रमा महिलाहरुले कार्य गर्दा स्वतन्त्रता पुर्वक गर्न पाउँनु, राज्यले दिने हरेक सेवा सुविधा र अधिकारमा बराबरी अवसर र उपयोग गर्न पाउनु नै म ि हला स्वतन्त्रता हो । कसैको रोकतोक र निर्देशन बिनानै जुन समयमा पनि स्वतन्त्रता पुर्वक हिलडुल गरि आफ्नो कार्य सम्पादन गर्न पाउनु नै महिला स्वतन्त्रता हो ।

समिना हवारी (प्रधानाध्यापक)
मदर्शा कास्मियाँ, वीरगंज
कुनै पनि महिलाले आफ्नो विचार स्वतन्त्र रुपमा व्यतm गर्न पाउनु नै महिला स्वतन्त्रता हो । सामाजिकीकरण, संस्कार एवं मूल्य–मान्यताले गर्दा आफ्नो अधिकार उपभोग गर्न नसकिरहेको अवस्थामा विभिन्न तह र तप्कामा यसै अनुसार समानुपातिक समावेशीमूलक ढंगले कार्यान्वयन हुुनुपर्छ । जब महिलालाई अधिकार दिने कुरा आउँछ यिनले दुरुपयोग गर्छन् भनिन्छ । त्यो अधिकार नदिने रणनीति हो । कही कतै १–२ जनाले दुरुपयोग गरे होलान् । तर समग्र जनसंख्यालाई हेर्नुपर्छ । औषधिको साइड इफेक्ट हुन्छ । त्यसो भन्दैमा औषधी नख्वाई मानिसलाई मर्न दिनु त भएन नि । यता हामीले पनि हरेक कुराको सकारात्मक पाटोलाई प्रयोग गरी अघि बढ्नुपर्छ ।