हावाहुरी, चक्रपात तथा विपत् भनेको बाजा बजाएर आउने कुरा होइन । यो भनेको नसोचेको र कल्पना पनि नगरेको घटना क्षणभरमा हुने कुरा हो । अस्ती चैत्र १७ गते साँझ बारा पर्सामा गएको चक्रपात पनि यस्तै मध्ये एक किसिमको विपत हो । यो विपत्ले बारा, पर्साका धेरै मानिस हताहत हुनुको साथै सयौं घाइते पनि समेत भए । कतिको घरवार नै उजाडियो । यस क्रममा सो क्षेत्रमा सबैभन्दा बढि बालबालिका, बृद्धबृद्धा र महिलाहरु प्रभावित भएका छन् । ती प्रभावितहरु मध्ये पनि महिलाहरुलाई अब कसरी सुरक्षित राख्न सकिन्छ ? भन्ने चुनौति थपिएको छ । गाँस, वास र कपासको मात्र होइन त्यहाँका महिलाहरुको सुरक्षाको पनि उत्तिकै हुने डर हुन्छ । विपत्मा शौचालय समेत ध्वस्त भएको कारण स्वास्थ्य समस्यासँगै विविध समस्या बढि महिलाहरुले भोग्न पर्ने हुन्छ । यस्तो अवस्थामा त्यो हावाहुरी प्रभावित क्षेत्रका महिलाहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनी स्थानीयहरुसँग लिएको प्रतिकृया :-

ओम प्रकाश शर्मा (प्रदेश सभा सदस्य)
प्रदेश नं. २
हावाहुरी प्रभावित क्षेत्रमा सहयोगका लागि सबैले सहयोग गरे पनि यो क्षण दीर्घकालिन उपाय खोज्न तर्फ पनि लाग्न जरुरी छ । हावाहुरी प्रभावित क्षेत्रको ठूलो समस्या भनेको शौचालय हो । अप्ठ्यारो र लाज मान्ने भएकोले पुरुषहरुलाई भन्दा महिलाहरुलाई शौच गर्नमा समस्या हुन्छ । त्यसैले सक्दो चाडो शौचालयको व्यवस्था गरिनु पर्छ । हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएकोले महिलाहरुको सुरक्षालाई ध्यानमा राखी बासस्थानका लागि तत्काल एउटा ठूलो हलको व्यवस्था गर्नुका साथै सुरक्षा निकायका सु्रक्षाकर्मीहरुले पनि गस्ति गर्नु पर्छ ।

लक्ष्मी कर्ण (उप—प्राध्यापक)
ठाकुरराम बहुमुखी क्याम्पस
यो एकदमै कठिन परिस्थिति भएकोले यस्तो समयमा सकभर समुहमा बस्नु नै तत्कालको विकल्प हो । तर सक्दो चाडो पूर्णवास तर्फ सबैले सोच्नु पर्छ । त्यस्तै यस्तो अवस्थामा स्वास्थ्यमा पनि समस्या आउने भएकोले आफ्नो स्वास्थ्य प्रति पनि गम्भिर भएर सोच्नु पर्छ । महिनावारी हँुदा र सुत्केरी भएका महिलाहरुले विशेष ध्यान पु¥याउनु पर्छ । राहत वितरणभन्दा पनि उनिहरुलाई चेतनामुलक कार्यक्रम संचालन गरी जनचेताना जगाउनु पर्छ ।

भोला कलवार (संचालक)
टावन हल पार्टी प्यालेस
हावाहुरी प्रभावित क्षेत्रमा राहत पुगे पनि ति सबै तत्कालिन आवश्यकता परिपूर्तिका लागि मात्रै छन् । अहिले त्यहाँको मुख्य समस्या भनेको शौचालय, वास र मनसुन हुन् । शौचालय निमार्णलाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राख्नु पर्छ । त्यो शौचालयहरु सबै भत्किएको कारणले खुल्ला ठाउँमै शौच गर्न बाध्य छन् । यो मनसुनको समय भएकोले त्यसरी खुल्ला रुपमा शौच गर्दा त्यसमा भएका जिवाणुहरु सजिलै हाम्रो खाना तथा पानीमा मिसिन गई धेरै रोगहरु फैलाउने सम्भावना बढी भएकोले हामीले शौचालयको व्यवस्था गर्नु पर्छ । त्यस्तै खुल्ला रुपमा बास बस्दा महिला हिंसामा पर्ने सम्भावना बढ्ने हुँदा तत्कालको लागि एउटा समूहगत रुपमा बास बस्ने ठाउँको व्यवस्था गर्ने र दीर्घकालिन रुपमा बासस्थानको व्यवस्था गर्न तर्फ सरकार पनि जुट्न पर्छ ।

अरविन्द सिंह (सचिब)
ब्लड डोनरर्स एशोसिएसन, पर्सा
हाम्रो मधेशको संस्कृति अन्ुुसार सासु, बुहारी, ससुरा, जेठाजु एकै ठाउँमा बस्न नमिल्ने भएकोले सामुहिक बसोबासबाट जति सक्दो चाडो छुट्कारा दिलाउन बसोबासको व्यवस्थापन मिलाउनु पर्छ । प्रदेश सरकारले आवासीय व्यवस्थापनको घोषणा त गरेको छ । तर घोषणाले मात्रै हुदैन । वर्षा नजिकिदै छ । अर्को भनेको खुल्ला रुपमा आगो बाली खाना बनाउनु पर्ने हुँदा यो हावाहुरीको समय भएकोले आगलागीको जोखिम पनि उत्तिकै हुन्छ । त्यसमाथि महिलाले नै घरधन्दा सम्हाल्नु पर्ने भएकोले उनीहरुलाई नै बढि जोखिम हुन्छ । त्यसैले सक्दो चाडो आवासीय व्यवस्थापना सबै लाग्नु पर्छ । अर्को भनेको खुल्ला शौचमा पनि महिलालाई बढि समस्या भोग्नु पर्ने हुँदा तत्कालका लागि शौचालयको पनि व्यवस्था गरिनुपर्छ । हावाहुरीका कारण विद्युत अवरोध भएकोले त्यहाँका मानिस अन्धकार मै बस्न बाध्य छन् । त्यो समस्याको अन्त्यको लागि भए पनि हरेकको हातमा एउटा टर्च लाईटको व्यवस्था गरिनु पर्छ र विद्युत मर्मत तर्फ पनि सोच्न जरुरी छ । यस्तो बेलामा गलत सोच भएका व्यक्तिले फाईदा उठाउन सक्छन् । खास गरी महिलाहरु माथि कुनै प्रकारको हिंसा हुन नदिन प्रहरीको निगरानी र गस्तिको पनि उत्तिकै आवश्यक छ ।

डा.अतुलेस चौरसिया (छाला रोग विशेषज्ञ)
वीरगंज पर्सा
हावाहुरी प्रभावित क्षेत्रको वातावरण सफा नभएकोले त्यहाँ भएका महिलाहरुमा छाला सम्बन्धी रोग, इन्फेक्शन हुने सम्भावना पनि उत्तिकै हुन्छ । जसले गर्दा उनीहरुले स्वास्थ समबन्धी विभिन्न समस्याहरु झेल्नु पर्ने हँुदा उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सके सम्म आफु रहेको वातावरणलाई सफा राख्नु पर्छ । मासिक रुपमा महिलाहरुमा हुने रजस्वला प्रकृयाका कारण पनि उनिहरुमा स्वास्थ्य समस्या आउन सक्छ । यो अवस्थामा उनिहरुका लागि आवश्यक सेनेटरी प्याड अन्डर गार्मेन्ट, पोषिलो खानाको व्यवस्था तर्फ पनि सबैले सोच्नु पर्छ ।

चन्चला दास (अध्यक्ष)
ओमेन्स स्किल सेन्टर वीरगंज, पर्सा
सबैभन्दा पहिला जनचेतना जगाउनु पर्दछ । किन भने यस्तो समयमा खाना र पानीको धेरै अभाव हुने हँुदा मानिसहरु जे भेट्यो त्यहि खाने गर्छन् । जस्ले गर्दा विभिन्न किसिमको रोगहरु लाग्न सक्छ र महामारीको रुपमा फैलन सक्छ । हावाहुरी प्रभावित क्षेत्रमा सकेसम्म टोल टोलमा सुरक्षा दस्ता परिचालन गरिनु पर्दछ. । यस्तो सुरक्षा टोलीमा महिला प्रहरी तथा सामाजिक कार्यकर्ताहरूको सहभागिता हुनु पर्दछ. । यो जिम्मेवारी सबैको हो । हाम्रो, तपाइको, समाजको अनि सरकारको । सबैले हातेमालो गरी हावाहुरीबाट पिडित हाम्राचेलीबेटिलाई सुरक्षा प्रदान गर्नु पर्दछ । साथै शिघ्रातीशिघ्र पुनर्वासको व्यवस्था गरिनु पर्छ ।

सर्फुल्लाह अन्सारी (केन्द्रिय सदस्य)
राजपा नेपाल, बारा
हावाहुरी प्राकृतिक प्रकोप हो । यो प्रायः चैत्र र बैशाख महिनामा बढि आउँछ । पानी पनि पर्नुका साथै ठुलो मात्रमा अशिनासँग पानी पर्ने तथा हावाहुरी चल्ने पनि हुन सक्छ । हावाहुरी प्रभावित क्षेत्रमा महिलालाई सुरक्षित राख्न सर्वप्रथम शौचालयको व्यवस्थापन गर्नु पर्छ । प्रभावित क्षेत्रमा अनेक प्रकारको मानिसहरुको बढी चहल—पहल हुनाले जघन्य अपराध जस्ता घटनाहरु हुने गर्छन् । यस्ता घटनाबाट जोगिनका लागी सभ्य मानिससँग मात्र बोल्ने । रातिको समयमा महिलाहरुको समुह वा आफ्नो परिवारका सबै संगै बस्ने व्यवस्था गर्नु पर्छ ।

डा.अनु अग्रवाल (छाला रोग विषेशज्ञ)
वीरगंज
खानपान र सरसफाईमा विशेष ध्यान दिनु पर्छ । यदि खानपान र सरसफाईमा ध्यान दिइएन भने सुत्केरी महिलाहरुलाई विभिन्न रोगले समात्ने र महामारी फैलने सम्भावना हुन्छ । त्यसैले पोसिलो खानाको व्यवस्था र सफा वातावरण निमार्ण तर्फ सबैको ध्यान जान जरुरी छ ।