श्रीपञ्चमी, यस दिन वालवालिकाहरुलाई स्कूल आरम्भ गराउने प्रचलन छ ।
नेपालको हिमालदेखि तराइसम्म श्रीपञ्चमीका दिन अभिभावकले आफ्ना सन्ततीलाई सावाँ अक्षर सिकाउने गर्दछन् ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । शोही विश्वासका अधारमा देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ । पुजाका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
विद्यार्थीहरुलाई सरस्वती स्तोत्र पढ्न लगाउँदै, विद्याकी देवी सरस्वतीसंग विद्याकैे वरदान माग्ने परम्परा छ र स्कूलमा सरस्वती पुजासंगै सामुहिक प्रसाद ग्रहण गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।