अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बानीजले दोस्रो कार्यकालका लागि बहुमतसहितको जित हासिल गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अन्तर्राष्ट्रिय नीतिहरूले पारेको प्रभावका बीच अष्ट्रेलियन जनताले परिवर्तनभन्दा स्थायित्व रोजेपछि आल्बानीज नेतृत्वको लेबर पार्टी विजयी भएको हो।
लेबर पार्टीको यो विजयसँगै आल्बानीज दुई दशकमा पुनः निर्वाचित हुने पहिलो प्रधानमन्त्री बनेका छन्। पछिल्लो अनुमानी मतगणनाअनुसार १५० सिट रहेको तल्लो सदनमा उनले कम्तीमा ८७ सिट जितेका छन्।
शनिबार राति (मे ३) विजय भाषण दिँदै भावुक देखिएका आल्बानीजले अष्ट्रेलियन जनताको “आशावाद र दृढता” का लागि धन्यवाद व्यक्त गरे। सिड्नीमा आयोजित पार्टी सभामा उनले भने, “ग्लोबल अनिश्चितताको यस्तो समयमा अष्ट्रेलियन जनताले स्थिरता रोजेका छन्।”
डटनको हार र कन्जर्भेटिभ पार्टीको पतन
कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री पदका आकांक्षी पिटर डटन आफ्नै निर्वाचन क्षेत्र ब्रिसबेनको बाहिरी क्षेत्रमा पराजित भएका छन्, जहाँ उनले २० वर्षदेखि जित्दै आएका थिए। हार स्वीकार गर्दै डटनले चुनावी पराजयको सम्पूर्ण जिम्मेवारी लिएका छन्। “आज राति हाम्रो लिबरल परिवार सम्पूर्ण देशभर दुःखी छ,” उनले भने।
डटनमाथि अमेरिकी राष्ट्रपति ट्रम्पजस्तै शैलीमा राजनीति गरेको आरोप लाग्दै आएको थियो। उनका केही नीतिहरू र अभिव्यक्तिहरू ट्रम्पकै शैलीका देखिएका थिए। उनले आफ्नो पार्टीका तर्फबाट छायाँ मन्त्री बनाएका एक नेतृले समेत “Make Australia Great Again” भन्ने ट्रम्पीय नारो प्रयोग गरेपछि आलोचना थपिएको थियो।
ट्रम्पको प्रभाव, तर सम्बन्ध कायमै
अष्ट्रेलिया र अमेरिका परम्परागत मित्र राष्ट्र भए पनि ट्रम्पका ट्यारिफ नीति र अनिश्चित नीतिगत धारहरूले अष्ट्रेलियन जनमानसमा अमेरिकाप्रतिको विश्वास घटाएको देखिन्छ। आल्बानीजले भने ट्रम्पसँग ‘न्यानो संवाद’ भएको उल्लेख गर्दै सम्बन्धप्रति विश्वास व्यक्त गरेका छन्।
अप्रिल २ मा ट्रम्पले अष्ट्रेलियामाथि १०% ट्यारिफ लगाउने घोषणा गरेपछि आल्बानीजले प्रेस कन्फरेन्स गर्दै भनेका थिए, “यो मित्र राष्ट्रको काम होइन।”
अन्तर्राष्ट्रिय प्रतिक्रिया
विश्व नेताहरूले आल्बानीजलाई बधाई दिएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अष्ट्रेलियालाई “महत्वपूर्ण मित्र” भनेका छन् भने बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले “दूरदराजको मित्रता बलियो हुन्छ” भन्दै शुभकामना दिएका छन्।
आन्तरिक मुद्दा र भविष्यको कार्ययोजना
तीव्र मुद्रास्फीति र जीवनयापन खर्चको समस्याबीच आल्बानीजको सरकारले घरेलु नीतिमा भने आलोचना खेप्दै आएको छ। आगामी कार्यकालमा उनले कर कटौती, सस्तो औषधि, पहिलोपटक घर किन्न चाहनेहरूका लागि कम डाउन पेमेंट, र १२ लाख घर निर्माणको योजना अगाडि सारेका छन्।
पर्यावरणको सवालमा उनले पुनः प्रतिवद्धता जनाएका छन्। सन् २०५० भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित नवीकरणीय ऊर्जा उत्पादन तीव्र बनाइए तापनि, नयाँ कोइला र ग्यास परियोजनालाई स्वीकृति दिएकोमा आलोचना हुँदै आएको छ।
आल्बानीजको एकता सन्देश
आल्बानीजले आफ्नो जितलाई सबै अष्ट्रेलियनहरूको जित भन्दै सामाजिक एकता र समावेशी मूल्यको पक्षमा उभिने संकेत दिए। “हामी सबै अष्ट्रेलियन हौं, चाहे तपाईँको मत जहाँ गयोस्, तपाईँको धर्म, प्रेम, संस्कार जुनसुकै होस्, हामी एउटै झण्डामुनि उभिन्छौं,” उनले भने।