टाइफुन मायसाकका कारण आएको भीषण बाढीपछि चीनको दक्षिणी सहर हेङ्झोउमा सयौं विषालु सर्प बस्तीमा पसेपछि स्थानीयवासी त्रसित बनेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार बाढीमा ३९ जनाको मृत्यु भएको छ भने बाढीका कारण करिब ९०० सर्प खुला रूपमा गाउँ–सहरमा पुगेका छन्।
बाढीले डुबाएका सर्प पालन केन्द्रबाट निस्किएका सर्पमध्ये सम्भवतः कोब्राले टोकेपछि एक महिलाको मृत्यु भएको छ। यसबाहेक अन्य केही व्यक्तिलाई पनि सर्पले टोकेको बताइएको छ।
स्थानीयवासीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोहरूमा सर्पहरू बाढीको पानीमा सजिलै पौडिँदै सडकमा घुमिरहेको देखिन्छ। त्यसपछि स्थानीय प्रशासनले नागरिकलाई रातिको समयमा बाहिर ननिस्कन, घाँसे मैदान तथा पोखरी आसपास नजान र सर्प देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
सर्पको जोखिम बढेपछि प्रशासनले सर्प समात्ने टोली परिचालन गरेको छ। अस्पतालहरूमा विषनाशक (एन्टिभेनम) पर्याप्त मौज्दात राखिएको छ भने स्वास्थ्यकर्मीलाई पनि सम्भावित बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
यसैबीच बाढीले स्थानीय चिडियाखानामा क्षति पुर्याएपछि दुई जेब्रा, एउटा गाई, तीन साना घोडा, दुई गधा, अस्ट्रिच, इमु र र्याकुन लगायतका जनावर पनि भागेका छन्। चिडियाखाना सञ्चालकका अनुसार बाढीका क्रममा खोर सुरक्षित बनाउने प्रयास गरिए पनि तीन सिंह डुबेर मरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीले १६ हजारभन्दा बढी सुँगुर पनि बगाएको छ। उद्धार टोलीले भारी उपकरण प्रयोग गरेर सुँगुरहरूको उद्धार गरिरहेको भिडियो सार्वजनिक भएको छ।
हेङ्झोउ चीनको ज्यास्मिन (चमेली) उत्पादनको प्रमुख क्षेत्रका रूपमा चिनिए पनि पछिल्ला वर्षहरूमा सर्प पालन उद्योगका लागि पनि प्रसिद्ध छ। सरकारी तथ्यांकअनुसार गुआङ्सी क्षेत्रमा सन् २०२० सम्म करिब दुई करोड सर्प र १४ हजारभन्दा बढी सर्प पालन फार्म सञ्चालनमा थिए। यहाँ मुख्य रूपमा कोब्रा र र्याट स्नेक पालन गरिन्छ, जसमध्ये कोब्रा अत्यन्त विषालु मानिन्छ।
स्थानीय सर्प उद्धार टोलीका सदस्यका अनुसार दुई दिनमै दुईदेखि तीन हजार सर्प समातिएको छ। बाढीपछि सर्पहरू प्रायः घरका कुनाकाप्चा तथा लुक्ने स्थानमा आश्रय लिने भएकाले स्थानीयवासीले देख्नेबित्तिकै उद्धार टोलीलाई खबर गरिरहेका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाले सर्पले सामान्यतया उक्साइ नभएसम्म मानिसमाथि आक्रमण नगर्ने जनाएको छ। साथै घरको प्रवेशद्वारमा सर्प भगाउने औषधि छर्किन, बाहिर हिँड्दा सर्प हुन सक्ने स्थानबाट टाढा रहन र झाडी क्षेत्रमा लट्ठीले जमिन ठोक्दै हिँड्न सुझाव दिएको छ।
बाढीको पानी क्रमशः घट्दै गए पनि गाउँ–बस्तीमा फैलिएका विषालु सर्प कहिलेसम्म जोखिमका रूपमा रहनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन।