वीरगञ्ज पब्लिक कलेजको आयोजनामा “मधेश, नेपालमा उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकास” विषयमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ।
सेमिनारमा उद्यमशीलता विकास, नवप्रवर्तन, अनुसन्धान, इन्क्युबेसन तथा विश्वविद्यालय–उद्योग सहकार्यका विविध पक्षहरूमा बहस गरिएको थियो। कार्यक्रम उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यलगायतको सहभागितामा सम्पन्न भएको हो।
उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष टेमानीले नवप्रवर्तनबिना उद्यमको विकास असम्भव भएको उल्लेख गर्दै उद्योग व्यापारमा आधुनिक दृष्टिकोण आवश्यक रहेको बताए। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गौतमले परम्परागत उद्योग अब सफल नहुने उल्लेख गर्दै स्टार्टअपको युग सुरु भएको धारणा व्यक्त गरे।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष खनालले नेपालको सन्दर्भमा स्टार्टअपलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउँदै नीतिगत सुधार, सहुलियतपूर्ण कर्जा, वित्तीय स्रोत, मानव संसाधन, पूँजी र बजारको समन्वय अपरिहार्य रहेको बताए। मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. शाक्यले मधेशमा स्टार्टअपका थुप्रै सम्भावना रहेको उल्लेख गर्दै त्यसको विकासका लागि शैक्षिक संस्था, नीति निर्माता र उद्योगीबीच सहकार्य आवश्यक रहेको बताए।
सो अवसरमा कलेज परिसरमा स्थापना गरिएको ‘बुद्ध इन्क्युबेसन सेन्टर’ को पनि उद्घाटन गरिएको थियो। उक्त केन्द्रले नवप्रवर्तनशील सोच भएका विद्यार्थी तथा युवा उद्यमीलाई आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्नेछ।
कार्यक्रम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न भएको हो। सेमिनारले मधेश प्रदेशमा उद्यमशीलता प्रवर्द्धन र स्टार्टअप संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।