गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण नदीको बहाव थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ। यद्यपि बाढीको वास्तविक कारणबारे विस्तृत अध्ययन भइरहेको छ।
नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीअनुसार आइतबार बिहान चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको थियो। त्यसपछि थुनिएको भाग खुलेर लेदो, माटो र गेग्रानसहितको बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ।
सेनाको श्री नम्बर ३ बाहिनी अड्डाले बिहान ५ः५५ बजे बूढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त गरेको थियो। त्यसपछि गोरखामा तैनाथ रुद्रध्वज गणअन्तर्गत सुरक्षा पोस्ट बाङ्सिङबाट बिहान सवा ६ बजे रेकी टोली खटाइएको थियो। टोलीले चुमनुब्री गाउँपालिका–३ को फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरेको थियो।
उक्त विवरणका आधारमा पहिरोले नदीको बहाव रोकेको र पछि थुनिएको भाग खुलेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। माथिल्लो क्षेत्रको हवाई तस्बिरमा साँघुरो खोँचमा गेग्रान बगेको र आसपासको भागमा पहिरो गएको जस्तो देखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बूढीगण्डकी र गत भदौ १० गते रसुवा–भोटेकोशीमा आएको बाढीको प्रकृति उस्तै देखिएको बताएका छन्। तर बूढीगण्डकी बाढीको उद्गमस्थल र वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन।
बाढीको कारण पत्ता लगाउन ड्रोनसहितको टोली बूढीगण्डकीको माथिल्लो क्षेत्रमा परिचालन गरिएको उप्रेतीले बताएका छन्। रसुवा–भोटेकोशीमा तिब्बत क्षेत्रमा हिमनदीको ठूलो भाग खसेपछि बाढी आएको थियो।
बूढीगण्डकीमा आएको बाढीबाट हालसम्म मानवीय क्षतिको खबर प्राप्त नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र गोरखा–आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका आठदेखि १० वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीले एउटा कच्ची घर बगाएको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा २२ वटा घर जोखिममा रहेको जनाइएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–३ को जगतबाट छ जनाको सकुशल उद्धार गरिएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको काम जारी छ।