गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।
बाढीले चुमनुब्री–३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। धार्चे–५ माछीखोलाको तल्लो बस्तीमा रहेका पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको मन्त्रालयले जनाएको छ। धार्चे–३ सल्लेरीका २० देखि २२ घर जोखिममा रहेका छन्।
त्यस्तै, चुमनुब्री–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भागसमेत बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
मन्त्रालयका अनुसार फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा छन्। सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (RRT) तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली (EMT) लाई तयारी अवस्थामा राखिएको छ।