नवप्रवर्तन र वैश्विक व्यवस्थापनको अहिलेको अवस्थामा कामको भविष्य सुरक्षित गर्न रणनीतिक योजनाहरुको खाँचो औंल्याइएको छ । नेपालजस्तो अल्पविकसित देशको विकास योजनामा यो विषय अझ बढी सान्दर्भिक रहेको वक्ताहरूले बताएका छन् ।
वीरगञ्ज पब्लिक कलेजले वीरगञ्जमा आयोजना गरेको ‘कामको भविष्य ः वैश्विक व्यवस्थापन अभ्यासमा नवप्रर्वतन र दिगोपन’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहका सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
सम्मेलनमा नेपालसहित भारत, पोल्यान्ड, इटाली, युक्रेन र दक्षिण अफ्रिकाका विश्वविद्यालय तथा शैक्षिक संस्थाका विज्ञहरूको सहभागिता थियो । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याए । उनले यस्ता सम्मेलनहरूले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वीरगञ्ज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले ज्ञान आदानप्रदान र अनुसन्धान संस्कृतिको विकासका लागि यस्तो अन्तर्राष्ट्रिय मञ्च उपयोगी हुने दाबी गरे । मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले विश्वविद्यालयमा नवप्रवर्तनमुखी कामको बारेमा अध्ययन अध्यापनको आवश्यकता औंल्याए । नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले नवप्रवर्तन केवल नयाँ प्रविधिको प्रयोगमात्र नभएको भन्दै नयाँ सोचको व्यावहारिक रुपान्तरण भएको दाबी गरे । दीर्घकालीन विकास योजनाले दक्ष जनशक्ति व्यवस्थापनबारे कुनै रणनीति नबनाएको अवस्थामा यो विषय नेपालजस्तो अल्पविकसित देशको विकास लक्ष्यमा अझ बढी सान्दर्भिक भएको बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम र त्रिभुवन विश्वविद्यालयका प्रा राधेश्याम प्रधानलगायतकाले सम्बोधन गरेका थिए । सम्मेलनमा दिन विभिन्न प्राविधिक सत्रहरू सन्चालन भए । वित्त तथा लेखा, अर्थशास्त्र र व्यवसाय विश्लेषण, मानव संसाधन व्यवस्थापन, मार्केटिङ तथा आपूर्ति शृंखला व्यवस्थापन, उद्यमशीलता र नवप्रवर्तन विषयमा सत्रहरू सञ्चालन गरिएका छन् ।
सत्रहरूमा दक्षिण अफ्रिकाको नर्थ वेस्ट विश्वविद्यालयका प्रा लुसियस बोट्स, इटालीको टुरिन विश्वविद्यालयका उपनिर्देशक प्रा डा ब्रायन खान, पोल्यान्डका प्राडा राफालआन्द्रेज लिजट, भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू तथा नेपालकावरिष्ठ शिक्षाविद्हरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
वीरगञ्ज पब्लिक कलेज र नाइजेरियाको भेर्टियास विश्वविद्यालय, पोल्यान्डको कलेज अफ सोशल एन्ड मिडिया कल्चर तथा युक्रेनको बोहदान खमेल्नित्स्की मेलिटोपोल स्टेट पेडागोजिकल विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । अन्तर्राष्ट्रिय सहकार्य विस्तार, अनुसन्धान प्रवद्र्धन र शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।