रसियाले युक्रेनको राजधानी किएभमा लगातार दोस्रो रात पनि भीषण मिसाइल तथा ड्रोन आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना बालबालिका रहेका छन्।
किएभका सैन्य प्रशासन प्रमुख तिमुर त्वाचेन्कोका अनुसार राजधानीका २० भन्दा बढी स्थानमा उद्धार कार्य जारी छ। आक्रमणमा दुई जिल्लाका बहुमञ्जिला आवासीय भवनहरूमा क्षति पुगेको छ।
यस्तै, किएभ आसपासका क्षेत्रमा भएको आक्रमणमा थप तीन जनाको मृत्यु भएको आपत्कालीन सेवाका अधिकारीहरूले जनाएका छन्।
किएभका मेयर भिताली क्लिच्कोका अनुसार रसियाले प्रहार गरेका ब्यालिस्टिक मिसाइलका कारण शहरका विभिन्न भवनमा ठूलो क्षति पुगेको छ। केही अपार्टमेन्टमा आगलागी भएको छ भने गोदाम र ग्यारेज कार्यशालाहरू पनि ध्वस्त भएका छन्।
सोमबार बिहानसम्म शहरका कम्तीमा तीन ठूला आवासीय भवन आंशिक रूपमा भत्किएका थिए। केही भवनमा मिसाइल प्रत्यक्ष खसेपछि भग्नावशेषमा फसेका नागरिकको उद्धार कार्य जारी छ। आगो नियन्त्रणका लागि हेलिकोप्टरमार्फत नदीबाट पानी ल्याएर आगो निभाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
दोस्रो ठूलो आक्रमणको चेतावनी
आक्रमण हुनुअघि नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गुप्तचर सूचनालाई उद्धृत गर्दै रसियाले किएभमा दोस्रो चरणको ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका थिए।
यसअघि गत बिहीबार राति गरिएको रसियाली आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। त्यसपछि हजारौं स्थानीय बासिन्दा साइरन बज्नासाथ मेट्रो स्टेशनहरूमा आश्रय लिन पुगेका थिए।
युक्रेनले रसियामाथि सर्वसाधारण बसोबास गर्ने क्षेत्रलाई नियतवश निशाना बनाएको आरोप लगाएको छ। यद्यपि, रसियाले भने हालै युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा गरेको आक्रमणको जवाफस्वरूप सैन्य तथा ऊर्जा संरचनालाई मात्रै निशाना बनाइएको दाबी गरेको छ।
यसक्रममा रसियाको नियन्त्रणमा रहेको क्रिमियाको सेभास्तोपोल शहरमा पनि विद्युत् आपूर्ति केही समयका लागि अवरुद्ध भएको बताइएको छ। युक्रेनले क्रिमियास्थित विभिन्न लक्ष्यमा आक्रमण तीव्र बनाउँदै रसियामाथि शान्ति वार्ताका लागि दबाब बढाउने रणनीति अपनाएको छ।
नेटो शिखर सम्मेलनअघि बढ्यो तनाव
यो आक्रमण नेटोको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको हो। सम्मेलनका क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई युक्रेनका लागि हवाई प्रतिरक्षा प्रणालीका मिसाइल आपूर्ति ढिला नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "हवाई प्रतिरक्षाका लागि आवश्यक मिसाइल आपूर्तिमा हुने कुनै पनि ढिलाइले थप नागरिकको ज्यान जान्छ र यसले रसियालाई युद्ध जारी राख्न प्रोत्साहन दिन्छ।"
उनले अमेरिकासँग प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल युक्रेनमै उत्पादन गर्न अनुमति दिनसमेत आग्रह गरेका छन्।