आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो। प्रतिशतका हिसाबले ११.३३ प्रतिशतको वृद्धि भएको हो।
अघिल्लो वर्ष अर्थात् २०८०/०८१ मा कुल १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको थियो।
सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर अर्धवार्षिक समीक्षा पछि यो लक्ष्य संशोधन गर्दै १२ खर्ब ८६ अर्ब रुपैयाँ बनाइएको थियो। संशोधित लक्ष्यको आधारमा हेर्दा ९१.६० प्रतिशत लक्ष्य हासिल भएको देखिन्छ।
अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार, “विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले चुनौती सिर्जना गरे तापनि अघिल्लो वर्षको तुलनामा यो वर्ष राजस्व संकलन उत्साहजनक रह्यो।”
उनले थपे, “हामीले तयारी सुरु गरिसकेका छौं । चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य प्राप्त गर्ने गरी अगाडि बढ्नेछौं।”
चालु आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरिएको छ।
विगत १० वर्षको राजस्व संकलन विवरण:
आर्थिक वर्ष | संकलित राजस्व (रुपैयाँ) |
---|
२०७१/०७२ | ४ खर्ब ०५ अर्ब |
२०७२/०७३ | ४ खर्ब ८१ अर्ब |
२०७३/०७४ | ६ खर्ब ०९ अर्ब |
२०७४/०७५ | ७ खर्ब २६ अर्ब |
२०७५/०७६ | ८ खर्ब २९ अर्ब |
२०७६/०७७ | ७ खर्ब ९३ अर्ब |
२०७७/०७८ | ९ खर्ब ३५ अर्ब |
२०७८/०७९ | १० खर्ब ६६ अर्ब |
२०७९/०८० | ९ खर्ब ५७ अर्ब |
२०८०/०८१ | १० खर्ब ५८ अर्ब |
२०८१/०८२ | ११ खर्ब ७८ अर्ब ८२ करोड |
राजस्व संकलनको गतिशीलता हेर्दा पछिल्ला वर्षहरूमा आम्दानीको अवस्था क्रमशः सुधार हुँदै गएको देखिन्छ। यद्यपि, चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न राज्य संयन्त्रले अझ सशक्त रणनीति अपनाउनु पर्ने देखिन्छ।