अनलाइनमार्फत ठगी गर्ने मुद्दामा पक्राउ परेका चिनियाँ नागरिक संलग्न मुद्दाको अनुसन्धानमा पर्सा प्रहरी जुटिरहेको पाइएको छ । दोभाषे बोलाएर सामान्य सोधपूछ सहित अनुसन्धान कार्यलाई गतिदिइरहेको पाइएको हो ।

प्रहरीले थप अनुसन्धानलाई विभिन्न कोणबाट तीव्रता दिएको पर्साका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले पनि दावी गरेको छन् । घटनाको सूक्ष्म अनुसन्धान भइरहेकोले अन्य गिरोहका सदस्यहरुको बारेमा पनि खोजतलाश जारी राखेको प्रवक्ता थापाको भनाइ छ । तीनजना चिनियाँ नागरिक पक्राउ परेको यस ठगी प्रकरणमा वीरगंजमा आपराधिक गतिविधि सञ्चालन गर्न सहयोग गर्न प्रत्यक्ष संलग्न देखिएका दुई नेपाली नागरिकको पनि खोजी कार्य तीब्र पारिएको प्रहरीको दावी छ । वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा घर भाडामा लिने मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–१० की ३२ वर्षीया श्रद्धा जोशी र घर खोज्ने एवं चिनियाँ नागरिकसँग चालकको भूमिकामा काम गर्ने वीरगंज महानगरपालिका–१७ अलौंका राजेश गुप्तालाई पर्सा प्रहरीले खोजतलाश गरिरहेको बुझिन आएको छ । प्रहरी अनुसन्धानमा हाल यी दुईजना भने फरार देखिएका छन् ।
वीरगंज–१५ लक्ष्मणवाका नन्दु पटेलकी पत्नी शिवदेवी पटेलसँग हेटौंडाकी जोशीले गरेको घरभाडा सम्झौतामा नन्दुको तर्फबाट वीरगंज–१७ अलौंका सञ्जय गुप्ता र जोशीको तर्फबाट राजेश गुप्ताले साक्षीमा हस्ताक्षर गरेको भेटिएको प्रहरीको भनाइ छ । पटेलको घरमा ब्रेडा इन्टरनेशनल सर्भिस कम्पनी प्रालिले चिनियाँ भाषा पढाउने इन्स्टिच्युट स्थापनाको लागि घर भाडामा लिएको सम्झौतापत्रमा उल्लेख छ । मासिक १० हजार रुपैयाँमा अढाई तले घरका आठवटा कोठा गत माघ १४ गते सम्झौता गर्दै भाडामा लिइएको थियो । घरभाडा सम्झौता गर्ने बेला पेश्कीबापत चार महिनाको घरभाडा रु ४० हजार घरधनीलाई दिएको सम्झौतापत्रमा उल्लेख रहेको पनि प्रहरीको भनाइ छ ।
घर भाडामा लिएपछि रातिपख मात्र गाडीमा सामान ल्याएर घरभित्र राख्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएको प्रहरीले खुलासा ग¥यो । त्यसपछिका गतिविधिहरू झनै शङ्कास्पद हुँदै गएको स्थानीयको दावी रहेको प्रहरीको भनाइ छ । स्वयं घरधनीलाई पनि साँझको समयमा पूजा गर्न रोक लगाउने, बाहिरका मानिसहरूलाई घरभित्र आउन नदिने जस्ता शङ्कास्पद गतिविधि हुन थालेपछि स्थानीयको मनमा चीसो पसेको थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म दैनिक १५–२० जना कर्मचारी सो घरमा काम गर्न आउने गरेको टोलवासीको हवाला दिदै प्रहरीले खुलासा गरेको छ ।
यो कार्यमा भारतीय युवकहरूमार्फत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ठग्ने कार्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चिनियाँ नागरिकहरूलाई यो अनलाइन ठगीकाण्डमा भारतीय प्राविधिक गिरोहले सघाएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । चिनिया नागरिक पक्राउ गरेको भन्ने बारे प्रहरीले पत्रकार सम्मेलन गरेर पहिले नै जनाइसकेको छ । अहिले अनुसन्धान जारी रहेको भनिएको यो मुद्दामा धरातलीय यर्थाथ भने अझै के हो भन्ने कुरा आउन समय लाग्ने प्रहरीको दावी छ ।
सामाजिक सञ्जाल फेसबूक, मेसेन्जर, ह्वाट्सएप, ट्विटर, इन्स्टाग्राम तथा टेलिफोनमार्फत पनि चिट्ठा परेको, पुरस्कार परेको भन्दै नेपाली, भारतीय, पाकिस्तानी नागरिकलाई झुक्याएर भारतीय बैंकको खातामा पैसा जम्मा गर्न लगाएर ठगीधन्दा चलाएको हुन सक्ने पनि प्रहरीको दाबी छ । प्रहरीले जबसम्म हेटौंडाकी श्रद्धा जोशी र वीरगंज, अलौंका राजेश गुप्तालाई पक्राउ गर्न सक्दैन तबसम्म अनुसन्धान पूरा नहुने पर्सा प्रहरीको दावी छ । पर्सा प्रहरीले अहिले पक्राउ परेका तीनजना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यवहार, साइबर अपराध, सङ्गठित अपराधलगायतका मुद्दा प्रभावित हुनेगरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । यसअघिका यस्ता घटनामा विदेशी शक्तिको दबाबमा आपराधिक गतिविधिमा संलग्न चिनियाँहरू छाडिएका पनि थिए । प्रहरीले लक्ष्मणवामा छापा मारी ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरू बरामद गरेसँगै एकजना चिनियाँ नागरिकलाई आदर्शनगर एरियातर्फबाट नियन्त्रणमा लिएको थियो । बाँकी दुईजना चिनियाँ नागरिक भने घटनास्थलबाटै पक्राउ परेको प्रहरीको दावी थियो । यस ठगी धन्धामा लियु गियु काई, वाङ बोहान र झ्याङ झियो गरी तीनजना चिनियाँ नागरिक पक्राउ परेका थिए । यसै घटनामा अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका दुईजना नेपाली नागरिकलाई भने सोधपूछ गरी जमानीमा हाजिरी हुन भन्दै छाडेको छ ।