मध्य नेपाल सन्देश साप्ताहिक आफ्नो प्रकाशन यात्राको एघारौँ वर्षमा प्रवेश गरेको छ । यो केवल समयको एउटा अंक पार गरेको क्षण होइन, सत्य, तथ्य, सन्तुलन र जनउत्तरदायी पत्रकारिताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताको अर्को महत्वपूर्ण अध्याय हो ।
एघार वर्षको यो यात्रा हाम्रा लागि अवश्य पनि सहज थिएन । अनेकौं चुनौती, आरोह–अवरोह, बदलिँदो परिस्थितिका बीच पनि हामीले आफ्नो उद्देश्य र मूल्य–मान्यतालाई कहिल्यै डगमगाउन दिएनौं । कठिन समयहरूमा पनि पाठकको विश्वासलाई हाम्रो सबैभन्दा ठूलो शक्ति ठान्दै सत्यतथ्य र सन्तुलित पत्रकारिताको मूल धर्मबाट विचलित नभई अघि बढिरह्यौं । यसबीचमा हामीले अनलाईन पोर्टल र टेलिभिजन तथा पडकाष्टमार्फत समाचार प्रवाहलाई अघि बढाएका छौं ।
यो यात्रामा हामी एक्लै थिएनौं । प्रत्येक अंकलाई आत्मीयताका साथ पढ्ने पाठक, आफ्नो व्यवसाय र संस्थाको सूचना समाजसम्म पु¥याउन हामीमाथि विश्वास गर्ने विज्ञापनदाता, निरन्तर हौसला प्रदान गर्ने शुभेच्छुक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति हामी हृदयदेखि नै आभारी छौं । यहाँहरूले दिनुभएको सुझाव, प्रतिक्रिया र आलोचनात्मक चेतनाले हामीलाई अझ जिम्मेवार, जवाफदेही र परिष्कृत पत्रकारितातर्फ अघि बढ्न निरन्तर प्रेरित गरिरहेको छ ।
आज पत्रकारिताको स्वरूप तीव्र गतिमा परिवर्तन भइरहेको छ । प्रविधिको अभूतपूर्व विकास, डिजिटल माध्यमको विस्तार, सूचनाको तीव्र प्रवाह र पाठकका बदलिँदा रुची तथा अपेक्षाले परम्परागत पत्रकारितासामु नयाँ चुनौती र सम्भावना दुवै प्रस्तुत गरेका छन् । यस्तो परिवेशमा विश्वसनीय सूचना, प्रमाणमा आधारित समाचार र जिम्मेवार सञ्चार झनै अपरिहार्य बनेको छ । त्यसैले समयसँगै आफूलाई परिष्कृत गर्दै नयाँ सोच, नवीन रणनीति र तथ्यमा आधारित सञ्चारकर्मलाई प्राथमिकता दिनु हाम्रो निरन्तर प्रयास रहनेछ ।
मध्य नेपाल सन्देशको पहिलो अंकको प्रकाशकीयमा व्यक्त प्रतिबद्धताझैँ, हामीले सत्यतथ्य र सन्तुलनलाई कहिल्यै बिर्सिएका छैनौँ र आगामी दिनमा पनि बिर्सने छैनौं राष्ट्रियता, लोकतन्त्र, सामाजिक–आर्थिक न्याय, नागरिक स्वतन्त्रता र नागरिक अधिकारप्रतिको हाम्रो प्रतिबद्धता आज पनि उत्तिकै दृढ र अटल छ । पत्रकारिता केवल सूचना दिने माध्यममात्र होइन, यो समाजप्रतिको जिम्मेवारी, जनआवाजको प्रतिनिधित्व र सार्वजनिक उत्तरदायित्वको महत्वपूर्ण आधार हो भन्ने हाम्रो अटल विश्वास छ ।
समाजका सकारात्मक पक्षलाई उजागर गर्ने, विकृति र विसंगतिमाथि प्रश्न उठाउने, आवाजविहीनका आवाजलाई स्थान दिने र नागरिकका सरोकारलाई प्राथमिकतामा राख्ने हाम्रो प्रयत्न आगामी दिनमा अझ सशक्त हुनेछ । आलोचना र प्रश्नबाट भाग्ने होइन, त्यसलाई आत्मसात् गर्दै आफूलाई सुधार्ने संस्कारलाई हामीले पत्रकारिताको अभिन्न हिस्सा मानेका छौं ।
मध्य नेपाल सन्देशलाई आजको अवस्थासम्म ल्याइपु¥याउन विगतदेखि वर्तमानसम्म प्रत्यक्ष वा परोक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण सहकर्मी, पत्रकार, लेखक, स्तम्भकार, प्राविधिक तथा व्यवस्थापनमा संलग्न सबैप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । उहाँहरूको श्रम, सिर्जनशीलता र समर्पणबिना यो यात्रा सम्भव हुने थिएन ।
एघारौं वर्षको यो प्रवेशसँगै हामी विगतको यात्रालाई गौरवका साथ स्मरण गर्दै भविष्यप्रति अझ ठूलो जिम्मेवारी महसुस गरिरहेका छौं । आगामी दिनमा पनि विश्वासलाई आधार, सत्यलाई शक्ति र जिम्मेवारीलाई मार्गदर्शन बनाएर पाठकको मन र समाजको आवश्यकतासँग जोडिएको पत्रकारितालाई निरन्तरता दिने हाम्रो प्रण छ ।
हामीलाई विश्वास छ–मध्य नेपाल सन्देशको यात्रा केवल हाम्रो यात्रा होइन, यो हाम्रा पाठक, दर्शक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मी र समग्र समाजको साझा यात्रा हो । एघारौं वर्षको यस विशेष अवसरमा यहाँहरू सबैप्रति पुनः हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौं । आगामी यात्रामा पनि यहाँहरूको साथ, विश्वास, सुझाव र रचनात्मक आलोचना निरन्तर प्राप्त भइरहने अपेक्षा गर्दछौं ।