स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीरगन्जस्थित नारायणी अस्पताललाई अबको एक वर्षभित्र देशकै नमूना सरकारी अस्पतालका रूपमा विकास गरिने बताएका छन्।
आइतबार नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण तथा निःसन्तान दम्पतीका लागि बाँझोपन उपचार सेवाको शुभारम्भ गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन्। उनले मधेस प्रदेशमा संघीय सरकारले सञ्चालन गरेको एक मात्र अस्पताल नारायणी अस्पताल भएकाले यसको सेवा र पूर्वाधार सुधारमा स्वास्थ्य मन्त्रालय गम्भीरताका साथ लागेको बताए।
मन्त्री पौडेलले भने, “स्वास्थ्यकर्मी इमान्दारीपूर्वक काममा लागे र यहाँका राजनीतिक दल तथा वीरगन्जवासीले साथ दिए, अबको एक वर्षपछि नारायणी अस्पताललाई देशकै नमूना अस्पतालको रूपमा स्थापित गर्न सकिन्छ।”
उनले पछिल्लो समय नारायणी अस्पतालमा उल्लेख्य सुधारको काम भइरहेको बताए। छिट्टै अस्पतालमै मुटु रोगको शल्यक्रिया सेवा सुरु हुने जानकारी दिँदै मन्त्री पौडेलले क्याथ ल्याब निर्माणको कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे।
स्वास्थ्यकर्मीलाई स्पष्ट निर्देशन
कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्पष्ट निर्देशन दिँदै मन्त्री पौडेलले भने, “डाक्टरहरूले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनिवार्य रूपमा ड्युटी गर्नु पर्छ, यसमा कुनै सम्झौता हुँदैन।” उनले अस्पताललाई कर्मचारी भर्तीको केन्द्र नबनाउन पनि चेतावनी दिए।
सरकारी अस्पतालमा बिरामीको भीड हुनुको कारण जनताको सरकारी चिकित्सक तथा नर्समाथिको भरोसा भएको उल्लेख गर्दै उनले त्यो विश्वासलाई कायम राख्ने गरी सेवा दिन आग्रह गरे।
कार्यक्रममा विशिष्ट उपस्थिति
अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रेशेखर यादव, पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति मोहम्मद साहबुदिन तथा युवा नेताहरू मनोहर साह, हरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो।