वीरगन्जबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीनजना पत्रकारलाई सम्मानित गर्ने भएको छ ।
मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले मधेसमा क्रियाशील भएर पत्रकारिता गरिरहेका तीन जनालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
आफ्नो वार्षिकोत्सवको अवसरमा पत्रिकाले स्तम्भकार र उत्कृष्ट पत्रकार महिला पुरस्कार दिने निर्णय गरेको छ ।
पत्रिकाले उत्कृष्ट महिला पत्रकारिता पुरस्कार जनकपुरकी पत्रकार मनिका झालाई दिने निर्णय गरेको मध्य नेपालको सम्पादक कबिता खड्काले बताइन् ।
पत्रकार झा लामो समयदेखि मधेसमा बसेर महिलाको मुद्दा उठान गर्दै विभिन्न क्षेत्रका ‘इस्यू’ उठानमा दरिलो कलम चलाउँदै आएकोले उनलाई सम्मान गर्न लागिएको मध्य नेपालले जानकारी दिएको छ ।
अन्नपूर्ण पोस्ट दैनिक पत्रिकामा कार्यरत मधेस ब्यूरो प्रमुख झालाई १५ हजार धनराशिको पुरस्कारले सम्मानित गर्न लागिएको हो । पुरस्कृत पत्रकार झा धनुषा पत्रकार महासंघको जिल्ला अध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।
यसैगरी पत्रिकामा ‘खोजी जवाफदेहिताको’का स्तम्भकार शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पनि पुरस्कार दिने निर्णय गरिएको छ । दुबै जनालाई जनही ११ हजार १ सय धनराशिको पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको छ ।
सम्मानित पत्रकार यादव समाजमा देखिएका बेथितिको विरुद्ध र भण्डारी सामाजिक मुद्दामा १० वर्षदेखि अनवरत मध्य नेपालमा कलम चलाउँदै आएका छन् ।
पुरस्कृत तीनै जनालाई यही भदौं १२ गते आयोजना हुने वार्षिकोत्सवमा सम्मानित गरिनेछ ।
यसअघि उत्कृष्ट पत्रकार महिला पुरस्कार कान्तिपुरकी संवाददाता सुनिता बराल, रातोपाटीकी बारा संवाददाता शारदा पोखरेल र रेडियो वीरगन्जकी पत्रकार एवम नेपाल पत्रकार महासंघ पर्साकी उपाध्याक्ष निलिमा पौडेललाई प्रदान गरिएको थियो ।