गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले काम नगरी केवल भाषण र आलोचना गरेर जनताको समस्या समाधान नहुने बताएका हुन्।
उनले सांसदहरूलाई सम्बोधन गर्दै घाँटी चिच्याएर मात्र जनताको सेवा नहुने भन्दै व्यवहारमै काम गरेर देखाउनुपर्नेमा जोड दिए।
‘घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पनि हुँदैन। त्यो मुखले बोलेको ५० वर्ष भइसक्यो। अब हामीले हातले काम गरेर देखाउनुपर्छ,’ गृहमन्त्री गुरुङले भने, ‘जनताको सेवा उनीहरूकै ठाउँमा पुगेर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ भने पनि मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन। म आफ्नो देश र जनताको सेवा गर्न आएको हुँ।’
गृहमन्त्री गुरुङले मन्त्रालयमा बसेर सुरक्षा तथा जनसेवासम्बन्धी विषयमा टोली बनाएर निरन्तर छलफल भइरहेको पनि बताए।
साथै उनले संसद्मा सरकारको आलोचना गर्ने सांसदहरूलाई लक्षित गर्दै प्रश्न गरे, ‘हामी गृहमन्त्रालयमा बसेर कसरी काम गर्ने भनेर छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना पुग्नुभएको थियो ? यहाँ घाँटी चिच्याएर कराउनेहरू त्यहाँ कति जना हुनुहुन्थ्यो ?’
उनको यो अभिव्यक्ति पछिल्लो समय सार्वजनिक सेवासम्बन्धी विषयमा सरकारको भूमिकामाथि उठिरहेका प्रश्न र आलोचनाका बीच आएको हो।