नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बुधबार कुवेतसँगको खेल जितेपछि पहिलो इनिङमा गुल्शन झाले खेलाएको क्यामिओ पारीको प्रशंसा गरेका छन्।
रोहितले भने, “गुल्शनले क्यामिओ खेल्दा खेल धेरै सजिलो भयो। उनको ब्याटिङले खेलमा प्रभाव पार्यो र हामीले मोमेन्टम प्राप्त गर्यौं।”
गुल्शनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए। उनले ६ बलमा २० रनको क्यामिओ पारी खेलेका थिए।
कप्तान रोहितले कुशल भुर्तेलको ब्याटिङलाई पनि शानदार र संयमित रहेको उल्लेख गरे। उनले भने, “भुर्तेलले राम्रो ब्याटिङ गरे र हामीले डिफेन्ड गर्न सक्ने योगफल तयार पार्यौं। विकेट ट्रिकी थियो, हामीले १५०–१६० रन बनाउन खोजेका थियौं। कुवेतले राम्रो बलिङ गर्यो। निरन्तर विकेट हरायौं, तर भुर्तेल र गुल्शनले राम्रो फिनिस गराए।”
खेलमा म्यान अफ द म्याच भएका कुशल भुर्तेलले आफ्नो करियरकै उत्कृष्ट इनिङमध्ये एक भएको बताए।
रोहितले बलिङमा सबै खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको पनि बताए। उनले भने, “बलिङमा सोमपालबाट शानदार सुरुवात भयो। त्यसपछि सन्दीप, ललित र दीपेन्द्रले पनि राम्रो बलिङ गरे।”
अन्तमा कप्तान रोहितले मैदानमा उपस्थित दर्शकहरूलाई धन्यवाद दिएका छन्। उनले भने, “लामो समयदेखि हाम्रो १२औं खेलाडीको रूपमा हुनुहुन्छ। ड्युटी छाडेर पनि खेल हेर्न आउनु भएको छ। सबैप्रति हाम्रो टिम कृतज्ञ छ।”