बाराको कलैयामा जन्मिएकी अञ्जली तिवारी वीरगन्ज महानगरपालिका वडा नं.–३, छपकैयामा बस्छिन् । विवाहका शुरुआति दिनमा पतिको कमाईबाट घर धानिएको थियो । भवितव्यलाई दैवले टार्न सक्दैन, कोरोना महामारीमा श्रीमानको मृत्यु भएपछि उनको जीवन संघर्षमय बन्यो । ‘दुई छोराछोरीको लालनपालन र हेरचाहको जिम्मेवारी पनि एक्लो काँधमा थपिएपछि संघर्षका सिढी एक्लै चढ्नु परेको छ । माइतीमा एउटा भाइमात्र छ । उताबाट पनि भरथेग मिल्ने कुरा भएन । सिंगो परिवारको बोझ आफ्नै काँधमा आयो,’ अञ्जलीले आफ्नो संघर्ष सुनाइन् । करिब २ दशकअघि उनको विवाह भएको थियो ।
अहिले बिहान बेलुका घरको कामबाट फुर्सद निकालेर टेलरमा गरेको परिश्रमले जीविकोपार्जन सहज भएको छ । टेलरमा काम गर्दागर्दै सिलाइ सिक्ने इच्छा भएपछि उनले वीरगञ्जको माईस्थानमा लेडिज टेलर्समा सिलाइ सिकिन् । कपडा सिलाउन जान्ने भएपछि त्यही टेलर्समा कपडा सिलाउने काम गर्न थालिन् ।

श्रीमान्को मृत्युपछि घरपरिवारबाट पनि खासै आडभरोसा नपाएकी उनी आफै दह्रो संघर्षपूर्ण श्रम गर्न बाध्य भइन् । ‘नेपाली समाज न हो, एकल महिला भएर बाँच्न कति कठिन छ भन्ने सबैलाई थाहै छ । उनी पनि कठिनसाथ अघि बढ्दै गरिन् । कपडा सिलाएर भए पनि केही पैसा कमाउन सकिन्छ भन्ने हिम्मतले अहिले जीविकोपार्जन सहज छ,’ उनले भनिन् ।
बिस २०७८ मा प्रमाणपत्र पाएपछि स्तुति टेलर्स नामले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराइन् ।
वीरगञ्ज महानगरपालिका–१६, मिथिलानगरकी कमला घिमिरेको संघर्षको कथा बेग्लै छ । दुई दशकअघि वीरगञ्जको गार्मेन्ट उद्योगमा गरेको श्रमबाट आर्जन भएको २०० रुपैयाँले हस्तकालाका सामान बनाउन शुरू गरेकी कमलाले अहिले स्थानीय महिलालाई समूहमार्फत श्रममा आवद्ध गरेकी छन् । महिलाहरूलाई सिलाइकटाइ, डल, कुसन, ब्याग बनाउने, हस्तकलाका सामान तयार पार्ने, अचार बनाउने, जुत्ता बनाउने, च्याउ खेती, झोल साबुन बनाउने, उलफेलका सामान (भेडाको ऊनबाट बन्ने सामान), च्याउको बीउ उत्पादन गर्नेजस्ता तालिम दिएर काममा लगाएकी छन् । करिब ४ सयजना महिलाई आफुनो श्रम खर्चिएर आम्दानी बढाएका छन् ।

चेली हस्तकला उद्योग नाम दिएर स्थानीय महिलाको सीप र श्रमको उपयोगमा महिलाहरुले सहकार्य गरेका छन् । चेली कृषि सहकारी बनाएर चेलीले उत्पादन गरेका सामान बिक्री गर्न खोलिने उद्योगको नाम पनि चेली हस्तकला उद्योग राखिएको घिमिरेले बताइन् । अहिले २२ जना महिलाले हस्तकलाका सामान उत्पादन गरी राम्रो आय गरेका छन् । केहीले घरको कामकाज सकेर फुर्सदको समय सदूपयोग पनि गरेका छन् । धेरैजसो एकल, विपन्न गरीब परिवारका र आर्थिक अवस्था नाजुक भएका महिलाले काम गरेका छन् ।
चार दशकदेखि होटल व्यवसायमा लागेकी मञ्जरी श्रेष्ठ एक समय परिवारिक चौघेरामै रुमलिएकी थिइन् । भारतको असमबाट विवाह गरेर वीरगञ्ज आएकी श्रेष्ठ शुरुमा घरायसी काममै अल्झिइन् । तर, पारिवारिक र सामाजिक मान्यतासँगै भेदभावका बन्धनलाई चुँडालेर व्यवसायीको रुपमा उभिन उनलाई धेरै समय परिश्रम गर्नुप¥यो । उनको परिश्रमले होटल कैलाश अहिले वीरगञ्जमै उत्कृष्टमध्येमा एक बन्न सफल भएको छ ।
करिब एक दशकदेखि श्रीमान्को साथ सहयोग नपाएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ की शान्ति नेपाली (गैरे) जीवनयापन गर्नकालागि आफैँ सङ्घर्षरत रहेरै अथक परिश्रमले उद्यमी बनेकी छन् । साधारण लेखपढ गर्न जानेकी गैरेले हस्तकला तालिम लिएर हस्तकलाका सामग्री बनाएर जीविकोपार्जन गर्न थालिन् । अरू महिलालाई पनि सीप सिकाएर उनले २० जना महिलाको समूह बनाएर सामूहिक उत्पादन गरिरहेका छन् । ‘महिलाले केही गर्न सक्दैनन् भन्ने सोच भएका मानिसलाई काम गरेर देखाउनु पर्छ भन्ने उद्देश्यले सामूहिकरूपमा हस्तकलाका उत्पादनमा लागेकी हुँ । धेरै महिलाको जीवन चलाउन यस्तो सीपले भरथेग गरेको छ,’ शान्तिको भनाइ छ ।

समूहका महिलाले घरको काम र बालबच्चाको हेरचाह गरेर बिहान ११ बजेदेखि ४ बजेसम्म समूहमा काम गर्छन् । उनीहरू जुत्ता र चप्पल बनाउने काम गर्छन् । आकर्षक, राम्रो र बलियो जुत्ता, चप्पल बनाउन मेहनत गर्नुपर्ने भएकाले एकजोर चप्पल बनाउन ३÷४ दिनसम्म पनि लाग्न सक्ने उनले बताइन् । कुनै पनि सङ्घ÷संस्थाबाट आर्थिक सहयोग भने नपाएको गुनासो उनले गरिन् । ‘अहिले तहगत सरकारहरूले महिलाहरूका लागि अनेक योजना ल्याएका कुरा सुनेका छौं, तर पहुँच नभएका महिला दिदीबहिनीहरुले यस्तो सहुलियत पाएको जानकारीसम्म हामीलाई छैन,’ उनले भनिन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ १४:५९